Showing posts with label विज्ञान–प्रविधि. Show all posts
Showing posts with label विज्ञान–प्रविधि. Show all posts

Saturday, December 7, 2019

अन्धविश्वास हटाउन विज्ञान–चिन्तन


तुल्सीदास महर्जन


२०७६ मङ्सिर २१ शनिबार

केही समयअघि वाम राजनीतिमा संलग्न एकजनाले नेपालमा विज्ञान प्रविधिको विकासबारे मेरो धारणा सोधे । हामीकहाँ विज्ञानलाई केवल प्रविधिसँग मात्र जोडेर हेर्ने चलन छ । ती व्यक्तिले त्यही कोणबाट मेरो धारणा सोधेका थिए । मैले विज्ञानलाई प्रविधिसँग जोड्नुअघि चिन्तनसँग जोड्नु जरुरी भएको धारणा राखँे । किनकि, विज्ञानले जन्माएको प्रविधिलाई पूर्ण रूपमा बुझ्न विज्ञान–चिन्तन आवश्यक छ । 
तुल्सीदास महर्जन
लोकतन्त्रमा आ–आफ्नो आस्थाअनुसार धर्म मान्ने सबैलाई हक छ । तर, मेसिनलाई ढोगेर, पूजा गरेर त्यसको नियम थाहा पाउन सकिन्न । गाडी बिग्रियो भने कुनै ईश्वरसँग प्रार्थना गरेर हुन्न । त्यसलाई मर्मत गर्न गाडीभित्र कुन पार्ट बिग्रिएको हो हेरेर, जाँच गरेर पत्ता लगाउनु जरुरी हुन्छ । गाडी एउटा प्रविधिको उपज हो । त्यो आफ्नै नियममा चल्छ । त्यसको नियम थाहा नपाई न त्यसलाई चलाउन सकिन्छ, न बिग्रिँदा त्यसको मर्मत नै गर्न सकिन्छ । तर, हामीकहाँ गाडीलगायत मेसिनलाई ढोग्ने र पूजा गर्ने चलन छ । खास चाडबाडमा गाडीलाई खसीबोका नै भोग दिने चलनसमेत छ । नयाँ हवाईजहाज ल्याउँदा हवाईजहाज इन्जिनियरहरूसमेतले हवाईजहाजमा कालो बोका बलि दिएको घटना नेपालमा छ । कतिपय कम्प्युटर इन्जिनियरहरूले समेत कम्प्युटरलाई अक्षता तथा अबिर छर्की पैसा चढाई पूजा गर्ने गरेको देख्न पाइन्छ ।

साधारणखालका मेसिन होस् वा कम्प्युटरजस्ता जटिल उपकरण ती सबै मानवमा विकसित विज्ञान चिन्तनको उपजबाट निर्मित वस्तुहरू हुन् । ती वस्तुहरूको सञ्चालनमा विज्ञान सिद्धान्तमा आधारित विशिष्ट भौतिक नियमहरूले काम गरेका हुन्छन् । ती नियमहरू न ईश्वरले सिर्जना गरेका हुन्, न तिनीहरूलाई ईश्वरले नियन्त्रण गर्न सक्छन् । त्यसैले तिनीहरूको सन्दर्भमा ईश्वरलाई प्रार्थना गर्नु, पूजा गर्नु वा बलि चढाउनुको कुनै तुक हुन्न । विज्ञान र प्रविधिलाई बुझ्न मानव विकास क्रममा चिन्तनको सुरुवात कसरी भयो भन्ने कुरालाई हेक्का राख्नु जरुरी छ ।
दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
इतिहासमा मानव सभ्यताको सुरुवात ज्ञानको विकासबाट नै भयो । जब चेतना सुरु भयो त्यहीवेलादेखि मानिसले चिन्तन गर्न थाल्यो । प्रकृतिबारे जिज्ञासा उठ्दा त्यसको हल गर्ने प्रक्रियाका रूपमा चिन्तनको विकास भयो । चिन्तनले नै ज्ञान प्राप्ति भयो । ज्ञानलाई प्रयोग गरी मानिसले वस्तु सिर्जना वा उत्पादन गर्ने सीप र प्रविधि विकास गर्‍यो । त्यही सीप र प्रविधिबाट औजारको आविष्कार र उत्पादन भयो । औजारले मानिसको आवश्यकताका वस्तु उत्पादन गर्न मद्दत गर्‍यो । निष्कर्षमा ज्ञानले नै सभ्यतालाई अगाडि बढायो ।
जनावरहरू चिन्तन गर्न सक्दैनन् । त्यसैले तिनीहरूमा ज्ञान हुँदैन । ज्ञान नभएकाले नै तिनीहरूले वस्तु सिर्जना गर्न सक्दैनन् । जनावरहरू प्रकृतिमा जे छ, त्यही वस्तु मात्र उपभोग गर्छन् । सिर्जना र उत्पादन गर्दैनन् । जनावरले प्रकृतिमा बनिबनाउ वस्तु मात्र उपभोग गर्न सक्छ, आवश्यकताअनुसारको वस्तु सिर्जना र उत्पादन गर्न सक्दैन । मानिसले प्रकृतिमा भएको वस्तुलाई सीप र प्रविधि प्रयोग गरी आफूअनुकूलको वस्तुमा रूपान्तरण गरी नयाँ वस्तुको सिर्जना र उत्पादन गर्न सक्छ । जनावर र मानवमा आधारभूत फरक यसैमा छ । ज्ञानको विशेष रूप विज्ञान हो । तसर्थ ज्ञान साधारण हुन्छ, विज्ञान विशेष र विशिष्ट हुन्छ । ज्ञान जेठो हो, विज्ञान कान्छो । यो ज्ञानको पछिल्लो विशिष्ट रूप हो ।
ज्ञानको पहिलो सिर्जना
लाखौँ वर्षपहिलेको आदिमानवले आहारको खोजीमा जंगलमा सिकार गर्न हिँड्दा सुरुमा आफ्ना हातखुट्टा प्रयोग गरी नै जनावरको सिकार गर्दो हो । आदिकालदेखि नै मानवको शरीर प्राकृतिक रूपले त्यति बलवान् थिएन, जसबाट ठूला जनावरको सिकार गरी पर्याप्त आहार पुर्‍याउन सकोस् । आधुनिक जमानाका अपुच्छ बाँदरसँग मिल्दोजुल्दो शारीरिक संरचना भएका आदिमानवहरू खाना प्राप्तिका लागि सिकार गर्न र सुरक्षाका लागि समूहमा बस्दथे । त्यसैले उनीहरूलाई आफू एक्लोका लागि मात्र होइन, समूहका लागि नै सिकार गरी खाद्यवस्तु उपलब्ध गराउनुपथ्र्यो । यो एक समस्या पनि थियो अवसर पनि । धेरै खाद्यवस्तु जोहो गर्नुपर्ने समस्या थियो भने सिकारका लागि समूहमा बस्दा शक्ति बढी प्राप्त हुने अवसर थियो ।
समूहमा बस्नाले मात्र ठूला जनावरको सिकार हुनु सम्भव थिएन । मस्तिष्कको विकासका कारणबाट केही चिन्तन गर्न सक्ने हुँदा मानिसले ठूला जनावरको सिकार कसरी सम्भव होला भन्ने सोच्न थाल्यो । मानिसले आफ्नो चिन्तनबाट रूखको हाँगाले हिर्काएर जनावरको सिकार गर्ने सोचको निर्माण गर्‍यो । उनीहरूले त्यस सोचलाई व्यवहारमा प्रयोग गरी हेरे । परिणाम के निस्कियो भने हातको मुड्कीले मात्र हान्नेभन्दा रूखका हाँगाले समेत हिर्काउँदा सिकारमा केही सहजपना आयो । रूखको हाँगा प्रयोग गर्नु भनेको औजार लगाउनु हो । यसरी मानिसले औजार प्रयोग गर्दा सिकार सहज हुने ज्ञान प्राप्त गर्‍यो । ज्ञानको पहिलो सिर्जना सायद यही नै थियो ।
विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो ।
अवलोकन, चिन्तन, सोच, प्रयोग, परिणाम, ज्ञान, तर्कवितर्क, नयाँ सोच आदिको शृंखलाबद्ध प्रक्रियाले मानव चेतनाको विकास अगाडि बढ्यो । पछि आदिमानवले अवलोकनबाट ढुङ्गालाई औजारको रूपमा प्रयोग गर्दा जनावरको सिकारमा थप सहज हुने सोचको निर्माण गरी प्रयोग गर्‍यो । त्यही प्रयोगले कालान्तरमा आफैँले ढुङ्गाका धारिला औजार निर्माण गरी सिकारलाई झन्झन् सहजतामा लाने सीप र प्रविधि आदिमानवले विकास गर्‍यो । यसबाट के निष्कर्ष निक्लिन्छ भने वास्तवमा आदिमानवको दैनिकीमा नै ज्ञानको विशेष रूप आइसकेको थियो, अर्थात् विज्ञानको जन्म भइसकेको थियो ।
विज्ञान संस्कृत शब्द हो । पूर्वीय मानव सभ्यतामा विज्ञान शब्दको उत्पत्ति र प्रयोग इसापूर्वमा नै भएको देखिन्छ । अङ्ग्रेजीमा विज्ञानको पर्याय शब्द ‘साइन्स’ हो । यो ल्याटिन भाषाबाट आएको हो । यो इसाको १९औँ शताब्दीमा मात्र उत्पत्ति भएको हो ।
मानवले आफूमा चिन्तनको क्षमता आएदेखि नै दुइटा काममा आफूलाई लगाए । एउटा, सत्यको खोज, अर्को मानव दैनिकीलाई सरल, सहज, सुरक्षित र सुविधायुक्त बनाउने उपायको खोज । पहिलोले दर्शनलाई जन्म दियो भने दोस्रोले विज्ञानलाई । वास्तवमा दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
प्रकृति वस्तु (पदार्थ) र घटनाको सँगालो हो । संस्कृतमा प्रकृतिको अर्थ आफैँ सिर्जित हो । वास्तवमा प्रकृति नै सम्पूर्ण सत्य हो । प्रकृतिका सबै वस्तु तथा घटनाहरूको कारण हुन्छ । प्रकृति स्वयंको भने कारण छैन । वस्तु तथा घटनाहरूको कारण प्रकृति वा प्रकृतिको नियम हो । प्रकृति स्वसिर्जित भएकाले त्यसका नियमहरू पनि स्वसिर्जित नै हुन् । प्राकृतिक वस्तु र नियमहरू थाहा नपाउँदासम्म रहस्यको विषय बनिरहन्छ । विज्ञानले अवलोकन, प्रयोग, परीक्षण, तर्कवितर्क र तथ्यका आधारमा प्राकृतिक नियमहरू पत्ता लगाउने गर्दछ । प्रकृतिका नियमहरू उजागर भएपछि कुनै पनि कुरा रहस्यको विषय बनिरहँदैन । 
विज्ञानले प्राकृतिक नियमहरूका आधारमा मानवोपयोगी वस्तु तथा औजारहरूको आविष्कार गर्दछ । जंगलमा नाङ्गो शरीर लिई सिकार गर्दै हिँड्ने आदिमानवदेखि अहिलेको कम्प्युटर युगका विकसित मानवसम्मको सभ्यताको यात्रा वस्तु तथा औजारहरूको आविष्कार र उत्पादनबाट नै तय भयो । विज्ञानले नै मानव जातिलाई अहिलेको युगसम्म ल्याइपुर्‍यायो ।
प्रकृतिको नियम थाहा नपाउँदा मानव समाजमा विभिन्न अन्धविश्वासहरूको अस्तित्व कायम रहिरहन्छ । त्यसैले विज्ञानको व्यावहारिक प्रयोगले मानव सभ्यतालाई अगाडि जानबाट रोक्ने अन्धविश्वासलाई हटाउन मद्दत गर्दछ । विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो । तसर्थ वास्तविक विज्ञानले जनताको जीवनलाई सत्यको मार्गमा लाने र सुखमय बनाउने काम गर्दछ ।
मानव जीवनलाई भौतिक रूपमा सुविधामय र समृद्ध बनाउन विज्ञान–प्रविधिले आधारभूत एवं निर्णायक भूमिका खेलेको छ । तर, विज्ञान–प्रविधिमा मनगढन्ते र अन्धविश्वासको कुनै भूमिका रहन्न । त्यसैले विज्ञान–प्रविधि अन्य देशबाट आयात गर्न सकिए पनि आफ्नै ठाउँ वा देशमा विकास गर्न विज्ञान चिन्तनविना सम्भव छैन । हामी अहिलेसम्म आयातीत प्रविधिमा नै निर्भर छौँ । हामी आफैँले प्रविधिको विकासमा छलाङ मार्ने हो भने हामीमा भएको अन्धविश्वासी चिन्तन र व्यवहारलाई त्याग्नु जरुरी छ ।
समाजका निर्माता जनता हुन् । नेपाली जनतालाई अन्धविश्वासको दलदलबाट बाहिर ल्याई नेपाली समाजलाई आधुनिक र विज्ञानसम्मत बनाउन राजनीतिको उच्च तहदेखि भुइँ तहको जनतासम्म विज्ञान चिन्तनलाई स्थापित गर्नु जरुरी छ । जति बढी विज्ञान चिन्तनको विकास हुन्छ, त्यही नै स्तरमा समाजमा अन्धविश्वासको पर्खाल भत्किन्छ । अन्धविश्वासबाट मुक्त मानिसले मात्र प्रविधिको वास्तविक विकास र सञ्चालन सम्भव हुन्छ । तसर्थ, विज्ञानलाई प्रविधिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति छाडेर यसलाई सही चिन्तन निर्माणसँग पनि जोडेर हेर्ने बानी बसाल्नु जरुरी छ ।
Source: Naya Patrika

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *

Baganaaskali Palpa Census 2078