Showing posts with label संस्कृति. Show all posts
Showing posts with label संस्कृति. Show all posts

Monday, October 27, 2025

दर्लम महाकाली मन्दिरमा रथ यात्रा कार्तिक १७ गते हुने



पाल्पा — लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको उत्तरी क्षेत्र, बगनासकाली गाउँपालिका–५ मा अवस्थित श्री दर्लम महाकाली मन्दिरमा हरेक वर्षको परम्परागत रथ यात्रा कार्यक्रम यस वर्ष वि.सं. २०९२ कार्तिक १७ गतेका लागि तय गरिएको छ। मन्दिर संरक्षण समितिका अध्यक्ष श्री ङणराज गैरेका अनुसार, मन्दिरमा महाकाली शिला भित्र्याइएको दिन वि.सं. २०१० को कार्तिक शुक्ल त्रयोदशी भएकाले सोही तिथिलाई रथ यात्रा दिवसको रूपमा मनाउने परम्परा रहिआएको छ।

मन्दिरको उत्पत्ति र धार्मिक पृष्ठभूमि

पदमपाणी गैरेका पूर्वजहरूले पुस्तौंदेखि महाकालीको आराधना गर्दै आएको परम्परालाई निरन्तरता दिँदै वि.सं. २००० मा माटोको मूर्ति स्थापना गरी पूजा आरम्भ गरिएको थियो। वि.सं. २०१० को कार्तिक शुक्ल त्रयोदशीको राति पदमपाणी गैरे सहित मलेंग निवासी हुमकान्त बश्याल लगायतलाई महाकाली माताले सपनामा दर्शन दिई “यहाँभन्दा २०० फिट तल सपांग्दीमा म दर्शन दिनेछु” भनी सन्देश दिनु भएको थियो। सोही स्थानमा उत्खनन गरी प्राप्त शिलालाई मन्दिरमा भित्र्याई नियमित रूपमा पाञ्चायन, रुद्राभिषेक, हवन आदि विधिपूर्वक पूजा गरिँदै आएको छ।

मन्दिर निर्माणको प्रेरणा र विकास यात्रा

वि.सं. २०४८ साल कार्तिक २२ गते राति श्री पदमपाणी गैरेका सातौँ सुपुत्र श्री ङणराज गैरेलाई माताले प्रत्यक्ष दर्शन दिई मन्दिर निर्माणको सम्पूर्ण प्रक्रिया बताउनु भएको थियो। माताले गोरखा स्थित मनकामना मन्दिर आफ्नो अंश भएको उल्लेख गर्दै त्यही ढाँचामा मन्दिर निर्माण गर्न तथा मन्दिर क्षेत्रलाई सार्वजनिक पूजा स्थल बनाउने निर्देशन दिनु भएको थियो।

यसै अनुरूप, वि.सं. २०५३ सालको आश्विन शुक्ल नवमीका दिन शिलान्यास गरिएको विशाल प्यागोडा शैलीको कलात्मक मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ। मन्दिर परिसरमा श्री गणेश मन्दिर, श्री भगवती पञ्चायत मन्दिर, श्री शिव मन्दिर, श्री लक्ष्मीनारायण मन्दिर, यज्ञमण्डप, हवनकुण्ड, वेदविद्यापीठ तथा भण्डार कक्ष निर्माण गर्ने गुरु योजना रहेको छ। केही संरचनाहरू निर्माण भइसकेका छन् भने अन्य कार्यहरू प्रगतिमा छन्।

व्यवस्थापन र भक्तजनहरूमा आह्वान

मन्दिर क्षेत्रलाई तिर्थस्थलको रूपमा विकास गर्दै यसको धार्मिक महत्वलाई अक्षुण्ण राख्न वि.सं. २०४७ साल भाद्र २४ गते तत्कालीन पाँच गाउँ विकास समितिका प्रतिनिधिहरूको सहभागितामा १७ सदस्यीय “श्री दर्लम महाकाली भगवती मन्दिर निर्माण तथा सञ्चालन समिति” गठन गरिएको हो। समितिबाट मात्र सम्पूर्ण कार्य सम्पन्न गर्न सम्भव नभएकाले श्रद्धालु भक्तजनहरूको सहयोग र सहभागिता अपेक्षित गरिएको छ।










Sunday, October 13, 2019

धार्मिक पर्यटकको लागि प्रमुख गन्तव्य दर्लममहाकाली (फोटो फिचर सहित)





नेत्र गैरे । पाल्पा

दर्लममहाकाली मन्दिरले धार्मिक पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्यको रुपमा परिचय बनाएको छ । बगनासकाली गाउँपालिका वडा नं. ५ मा दर्लम महाकाली भगवती मन्दिर रहेको छ ।
दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्वर्गीय पदमपाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजाआजा शुरु गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।
दर्लममहाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरु बढी आकर्षित हुने गरेका छन् । किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदमपाणि गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रुपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रह्म मुहुर्तको समयमा) शिलाको रुपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रुपमा दिक्ष दिइन् ।
दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा २ सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताए अनुसार दुबै जनालाई मैले शिलाको रुपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहुर्तमा यस ठाउँमा जानु भने अनुसार पदमपाणि गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए ।
जव ब्रह्म मुहुर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहुर्तको समय भएको थाहा भयो तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तर तर्फको पानीको कुवामा माटो झर्यो र माता महाकालीको मूर्ति शिलाको रुपमा प्रादुर्भाव भयो र सबै गाउँलेहरु मिलेर पालैपालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारुपी माता महाकालीलाई उठाई पानी कुवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइपुगे ।
बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दिक्ष अनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुबै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मुर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मुर्तिको पुजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदमपाणिकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदै सानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जस अनुसार नित्य पञ्चायन पूजा, रुद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।
माता महाकालीको साक्षात्कारको अवस्था
माता महाकालीले २०४८ साल कार्तिक २२ गते राती २ बजे देखि बिहान ५ बजे सम्म बुटवल उप नगरपालिका अन्तर्गत भाडामा कोठा लिई बसेको अवस्थामा पदमपाणि गैरेका आठ भाई छोरा मध्ये सातौँ छोरा ठूल्कान्छा भनेर चिनिने ङणराज गैरेलाई प्रत्यक्षरुपमा माता महाकालीले विराट रुपको दर्शन दिइन् ।
महालकालीले दिक्ष दिइन्, तँ मनकामना भन्ने ठाऊँमा गएको छैनस् – त्यहाँ जा । त्यहाँ पनि मै हुँ म त्यहाँ सानो रुपमा छु । म यहाँ विराट रुपमा छु । मनकामना भन्ने ठाउँको मन्दिर मलाई ज्यादै पसन्न छ र यहाँ पनि सोही अनुरुपको मन्दिर बना ।
मन्दिर निर्माणका लगि तिमीहरुको ७६ जना सदस्यहरु बस्ने गरेको मुल घरलाई भत्काएर जमिन ठिक ठाक पारेर पुरानो मन्दिर समेत समेटिने गरी मन्दिर निर्माणको काम गर्नु भनी अराए अनुसार मनकामना मन्दिरकै आकारमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरि तामाको छाना राखिएको छ । माताले मन्दिर बनाउँदा मूल द्वार पूर्वतर्फ र सहायक द्वार दक्षिण तर्फ राख्नु भनि दिक्ष दिएकी थिइन् । भने मन्दिरको उचाईको २/३ उचाई भएको त्रिशुल पुर्व तर्फ राख्न अह्राएकी थिइन् । मूल ढोका र दक्षिण ढोकाको अगाडि दायाँ बायाँ ठूला ठूला घण्ट राख्न र भक्तजनले चढाएका साना घण्टहरु मिलाएर राख्न माताले अह्राएको ङणराज गैरेले बताए । पञ्च पञ्चायन तथा गौरी शंकर शिव पाञ्चायन लाई भुवनेश्वरी मन्दिर तथा भजन कीर्तन सत्तल निर्माण गरी स्थापना गरिएको छ ।
दर्लम महाकाली भगवती मन्दिरको महत्वलाई हृदयंगम गरी त्यतिबेलाको मन्दिर क्षेत्रलाई बिस्तार गरी गोरखा मनकामना भगवती मन्दिरको आकारमा बि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पुजारी पुरुषोत्तम गैरेको करकमलबाट शिलान्यासको काम गरिएको थियो । त्यसै गरी २०७३,०७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ ।
हाल बनेको महाकाली भगवतीको मन्दिर ३ तलाको बनेको छ । एक तलाको बरण्डा माथी पक्की ढलान छ भने २ तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरुयोजना अनुरुप भुवनेश्वरी मन्दिर, भजन किर्तन सत्तल सहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाह अनुसार गरिएको छ ।
मूल मन्दिरको पूर्वतर्फ २ तले नौ कोठे भवन निर्माण कार्य निर्माणाधिन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाक्रीस्थानको चौपारी निर मूल प्रवेश द्धार बिशेष रुपमा बनेको छ । यो मन्दिर जिल्ला प्रशासन कार्यालय पाल्पा बाट २०५८ कार्तिक १६ गते दर्ता नं. ५०४ मा दर्ता भएको छ । मन्दिर परिसर हाल १२–०५–३–० क्षेत्रफल भएको लालपूर्जा प्राप्त जमिनमा रहेको छ भने कि. नं. १४९ को ६–०–२–३ क्षेत्रफलको पल्लोबारी पनि मन्दिरकै नाममा समावेस रहेको छ । मन्दिरको नाममा १८ रोपनी ६ आना, १ दाम ३ पैसा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ । उक्त जग्गा पदमपाणिका ८ भाई छोराहरुले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।
मूल मन्दिरको पूर्व तर्फको ९ कोठे भवनको माथिल्लो तलामा रेलिङ सहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरुयोजना रहेको छ । यसका लागि नेपाल सरकार, पुरातत्व विभाग, जिल्ला समन्वय समिति सहित गाउँपालिका लगायतसित समन्वय गर्ने योजना रहेको अध्यक्ष ङणराज गैरेले बताए ।
वि. सं. २०६९ माघ २ गते देखि ८ गते सम्म मन्दिरलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले तत्कालिन छिमेकी गविसहरु तथा अन्य संघसंस्थाहरुको सहभागितामा पं. भिमकान्त पन्थी प्रमुख वाचकको रुपमा रहेको महायज्ञबाट संकलन भएको ४५ लाख रुपियाँ मध्ये बचत रकमबाट मन्दिरको तामाको पाताले मुल छानो छाउने काम सम्पन्न भएको छ ।
तत्कालिन गाउँ विकास समिति, जिल्ला विकास समिति, भौतिक तथा भवन निर्माण कार्यालयबाट प्राप्त सहयोग, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त निरन्तर सहयोग रहेको छ । स्थानीय तथा बाह्य भक्तजनहरुबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट मन्दिर निर्माण तथा पूजा संचालनमा सहयोग पुगेको छ ।
मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरु
यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै बार्षिक रुपमा मन्दिरमा थप धार्मिक कार्यहरु हुँदै आएको छ । जस अनुसार प्रत्येक बर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजागाजा, भजन कीर्तन सहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ ।
शिवरात्रीमा रुद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको शाक्तम्रमोदको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ । यी समयमा अरु बेला भन्दा यहाँ दशनार्थीहरुको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलन समेत रहेको छ ।
महाकाली मन्दिरको गुरु योजना अनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको काम भइरहेको मन्दिर संरक्षण समितिका सचिव पिताम्वर शर्माले बताए । भगवती माताको आशिर्वादले आफ्ना मनोकांक्षा पुरा भएको काली भक्त हुम प्रसाद गैरेको अनुभव छ ।
स्रोत: पाल्पा समाचारपत्र

रातीको दृश्य 

रातीको दृश्य











मन्दीर परिसरबाट देखिएको रिम्घा लेक र खानिछापको दृश्य

रुद्राक्ष, भब्बु र बेलको वृक्ष

Monday, August 5, 2019

आज नाग पञ्चमी, यस्तो छ धार्मिक मान्यता

आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो । 

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

यिनै नागहरु अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे । 

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । 

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।


कल्की जयन्ती

भगवान विष्णुको दशौ तथा अन्तिम अवतार "कल्की अवतार" भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। 

भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन् । 

Thursday, January 17, 2019

तयार भयो २०७६ सालको पात्रो



ईश्वरराज ढकाल, काठमाडौं । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।
पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ ।
पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।
तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ ।
आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ ।

पात्रो निकाल्यौ, सरकारले बिदाको निर्णय पछि गर्ला: समिति

आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गर्नुभएको छ ।
उहांले भन्नुभयो– भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन ।
आगामी वर्ष ३० दिन विवाहको साइत रहेका छन् । ब्रतबन्धको साइत १२ दिन रहेको छ । अधिकांश विवाह हुने महिनामा धेरै साइत रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाका अनुसार वृहस्पति र शुक्र नअस्ताएका कारण विवाहको अधिकांस महिनामा विवाहको साइत रहेको हो ।
गृह मन्त्रालयले विदाको सूचना जारी नगरेपनि निर्णायक समितिले माघ १७ गते पात्रो सार्वजनिक गर्ने गरी विभिन्न १३ संस्थालाई छपाई स्विकृति दिएको छ ।
‘हामीले निर्णय गरेर गृह मन्त्रालयलाई पठाइसकेका छौ, मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ वर्षको क्यालेण्डर सार्वजनिक हुनेछन’–पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राडा गौतमले भन्नुभयो ।
उहाले विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि पात्रो सार्वजनिक गरेको दावी गर्नुभयो । उहाले सरकारले विदाको सूचना जारी नगरेपनि पात्रो निकाल्ने कामलाई नरोकेको जानकारी दिनुभयो ।
उहांले भन्नुभयो–हामी सरकारको विदा दिने नदिने वास्तै गर्दैनौ, विदाको विषयमा समितिले कुनै चासो दिएको छैन । समितिले पञ्चाङको सम्पूर्ण विवरण सहित हामीले सबै तिथि, मिति उपलब्ध गराइसकेको छ ।
समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

Thursday, November 22, 2018

दर्लम महाकालीको भगवती रथयात्राबारे

नेत्र गैरे

यस्तो छ रोचक किंवदन्ती

दर्लममहाकाली भगवती मन्दिर बगनासकाली-५ दर्लमडाँडा पाल्पामा आज अर्थात् बुधबार दर्लम महाकाली भगवतीको रथयात्रा निकालिँदैछ । रथयात्रा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ङणराज गैरेले बताए । दर्लमडाँडा निवासी स्व.पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए ।
स्व.पदम्पाणी गैरेले वि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरी माटोको मूर्ति बनाई पूजाआजा सुरु गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुरसहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिणतर्फ सुन झाँक्री र चण्डीमाइको थान साथै पूर्वतर्फ महाकालीको उत्पत्ति स्थल रहेका छन् ।
दर्लम महाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरु बढी आकर्षित हुने गरेका छन् । किवंदन्तीअनुसार वि.सं.२०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रुपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहूर्तको समयमा) शिलाको रुपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मूर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रुपमा दिक्ष दिइन् ।
दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा दुई सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताएअनुसार दुवै जनालाई मैले शिलाको रुपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहूर्तमा यस ठाउँमा जानू भनेअनुसार पदम्पाणी गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए । जव ब्रह्म मुहूर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहूर्तको समय भएको थाहा भयो 
तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तरतर्फको पानीको कुँवामा माटो झ¥यो र माता महाकालीको मूर्ति शिलाको रुपमा प्रार्दुभाव भयो र सबै गाउँलेहरु मिलेर पालै पालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारुपी माता महाकालीलाई उठाई पानी कुँवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइपुगे । बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दीक्षअनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुवै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मूर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मूर्तिको पूजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदम्पानीकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदैसानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जसअनुसार नित्य पञ्चायन पूजा, रुद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।
माता महाकालीको साक्षात्कारको अवस्था माता महाकालीले २०४८ साल कार्तिक २२ गते राति २ बजेदेखि बिहान ५ बजेसम्म बुटवल उपमहानगरपालिका अन्र्तगत भाडामा कोठा लिई बसेको अवस्थामा पदमपाणि गैरेका छोरा ठूल्कान्छा भनेर चिनिने ङणराज गैरेलाई प्रत्यक्षरुपमा माता महाकालीले बिराट रुपको दर्शन दिइन् । महालकालीले दीक्ष दिइन्, तँ मनकामना भन्ने ठाऊँमा गएको छैनस्– त्यहाँ जा । त्यहाँ पनि मै हुँ म त्यहाँ सानो रुपमा छु । म यहाँ विराट रुपमा छु । मनकामना भन्ने ठाउँको मन्दिर मलाई ज्यादै पसन्न छ  र यहाँ पनि सोहीअनुरुपको मन्दिर बना । मन्दिर निर्माणका लगि तिमीहरुको ७६ जना सदस्यहरु बस्ने गरेको कूल घरलाई भत्काएर जमिन ठिक ठाक पारेर पुरानो मन्दिरसमेत समेटिने गरी मन्दिर निर्माणको काम गर्नु भनी अराएअनुसार मनकामना मन्दिरकै आकारमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरी तामाको छाना राखिएको छ । माताले मन्दिर बनाउँदा मूलद्धार पूर्वतर्फ  र सहायक द्वार दक्षिणतर्फ राख्नु भनि दिक्ष दिएकी थिइन्  भने मन्दिरको उचाइको २/३ उचाइ भएको त्रिशुल पूर्वतर्फ राख्न अह्राएकी थिइन् । मूल ढोका र दक्षिण ढोकाको अगाडि दायाँबायाँ ठूलाठूला घण्ट राख्न र भक्तजनले चढाएका साना घण्टहरु मिलाएर राख्न माताले अह्राएको ङणराज गैरेले बताए । पञ्च पञ्चायन तथा गौरी शंकर शिव पाञ्चायन लाई भुवनेश्वरी मन्दिर तथा भजनकीर्तन सत्तल निर्माण गरी स्थापना गरिएको छ ।
दर्लम महाकाली भगवती मन्दिरको महत्वलाई हृदयंगम गरी त्यतिबेलाको मन्दिर क्षेत्रलाई बिस्तार गरी गोरखा मनकामना भगवती मन्दिरको आकारमा वि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पूजारी पुरुषोत्तम गैरेको करकमलबाट शिलन्यासको काम गरिएको थियो । त्यसै गरी २०७३÷०७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ । हाल बनेको महाकाली भगवतीको मन्दिर तीन तलाको बनेको छ । एक तलाको बरण्डा माथि पक्की ढलान छ भने दुई तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरुयोजना अनुरुप भुवनेश्वरी मन्दिर, भजन कीर्तन सत्तलसहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाहअनुसार गरिएको छ । मूल मन्दिरको पूर्वतर्फ दुईतले नौ कोठे भवन निर्माण कार्य निर्माणाधीन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाँक्रीस्थानको चौपारी निर मूल प्रवेश द्वार विशेष रुपमा बनेको छ । यो मन्दिर जिल्ला प्रशासन कार्यालय पाल्पा बाट २०५८ कार्तिक १६ गते दर्ता नं. ५०४ मा दर्ता भएको छ । मन्दिर परिसर हाल १२–०५–३–० क्षेत्रफल भएको लालपूर्जा प्राप्त जमिनमा रहेको छ भने कि. नं. १४९ को ६–०–२–३ क्षेत्रफलको पल्लोबारी पनि मन्दिरकै नाममा समावेस रहेको छ  । मन्दिरको नाममा १८ रोपनी ६ आना, १ दाम ३ पैसा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ । उक्त जग्गा पदम्पानीका आठ भाइ छोराहरुले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।
मूल मन्दिरको पूर्वतर्फको नौ कोठे भवनको माथिल्लो  तलामा रेलिङसहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरुयोजना रहेको छ । यसका लागि नेपाल सरकार, पुरातत्व विभाग, जिल्ला समन्वय समिति सहित गाउँपालिका लगायतसित समन्वय गर्ने योजना रहेको अध्यक्ष ङणराज गैरेले बताए ।
वि. सं. २०६९ माघ २ गतेदेखि ८ गतेसम्म मन्दिरलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले तत्कालीन छिमेकी गाविसहरु तथा अन्य संघसंस्थाहरुको सहभागितामा पं. भिमकान्त पन्थी प्रमुख वाचकको रुपमा रहेको महायज्ञबाट संकलन भएको ४५ लाख रुपियाँमध्ये बचत रकमबाट मन्दिरको तामाको पाताले मूल छानो छाउने काम सम्पन्न भएको छ । तत्कालीन गाउँ विकास समिति, जिल्ला विकास समिति, भौतिक तथा भवन निर्माण कार्यालयबाट प्राप्त सहयोग, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त निरन्तर सहयोग रहेको छ ।  स्थानीय तथा बाह्य भक्तजनहरुबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट मन्दिर निर्माण तथा पूजा सञ्चालनमा सहयोग पुगेको छ ।
मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरु यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै वार्षिकरुपमा मन्दिरमा थप धार्मिक कार्यहरु हुँदै आएको छ । जसअनुसार प्रत्येक वर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजागाजा, भजन कीर्तनसहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ । शिवरात्रीमा रुद्राभिषेकसहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा
पूजा, परम्परागत सप्तशती चण्डीको विधानअनुसार र माता महाकालीको सत्तप्रमोधको विधानअनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशैँ पूजा गर्ने गरिन्छ । यी समयमा अरु बेला भन्दा यहाँ दशनार्थीहरुको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलनसमेत रहेको छ । महाकाली मन्दिरको गुरु योजनाअनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको काम भइरहेको मन्दिर संरक्षण समितिका सचिव पिताम्वर शर्माले बताए । भगवती माताको आशीर्वादले आफ्ना मनोकांक्षा पूरा भएको कालीभक्त हुमप्रसाद गैरेको अनुभव छ ।








Monday, September 3, 2018

उत्तम सञ्जेलको सर्वोत्तम सन्देश : हेर्नोस्, ३०० रुपैंयाको आदर्श विवाह…(भिडियो सहित्)

दुलाहाको नाम : उत्तम सञ्जेल

दुलाहाको काम : शिक्षा सेवा
(जम्मा रु. १०० /–  मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका )
दुलहीको नाम : कला अधिकारी
दुलहीको काम : बिरामीको सेवा
(जम्मा रु. १००/– मा उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत ।)
विवाहस्थल : गुहेश्वरी मन्दिर परिसर
जन्ती संख्या : जम्मा १० जनामात्र
(मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल ।)
विवाहको समय : ५ मिनेट)
भोज : एक किलो लड्डु (स्पोन्सर्ड बाई मह जोडी)
विवाहका बिशेषता :
–परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको ।
–दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी समेत किन्न नसक्नेहरुलाई सहयोग गर्ने जानकारी ।
–दाईजोको रुपमा सिङ्गै छोरी नै पाएको हुनाले दुलाहा पक्षले ससुराली पक्षलाई आभार ब्यक्त गर्दै दाईजोको बिकृतिलाई ब्यवहारबाटै बिरोध गर्ने ।
विवाहमा भएको खर्च यस प्रकार रहेका छ ।
सिन्दुर – रु. २५ /– मात्र
पोते – रु. ७५ /– मात्र
माला (२)– रु. २००/– मात्र
जम्मा खर्च– जाबो रु. ३००/– मात्र
#उपरोक्त खर्चमा ट्याक्स र भ्याट जोड्ने/नजोड्ने सर्वाधिकार स्थानीय सरकारमा सुरक्षित छ । 😀 

Friday, June 1, 2018

सुब्बा होमनाथ र केदारनाथ

कमल दीक्षित

नेपाली भाषाका चिरसेवक तर अब विस्मृतिका गर्भमा पुगिसकेका स्वनामधन्य स्रस्टा–साहित्यकारहरूको स्मरण गर्ने कार्य गतवर्षदेखि हामीले गर्दै आएका छौँ शिक्षकका पानामा । बिर्सिन नहुने नाम हुन् ती सबै । शिक्षक मासिकका पाठक तथा शिक्षक साथीहरूले तिनका विषयमा जिज्ञासा राखेर अरू खोजखाज गर्नुभयो होला भत्रे आशा गरौँ । अबचाहिँ हामी संयुक्त रूपमा सम्झ्नुपर्ने केही महामनाहरूतर्फ सोझयाउँछौँ हाम्रो ‘सर्चलाइट’ । हाम्रो यो ‘खोजबत्ती’ को उज्यालोमा देखा परेका छन्— दुई जना, बाबु र छोरा, खतिवडा पितापुत्र । यद्यपि उनीहरूले आफूलाई ‘उपाध्याय’ मात्रै भनेर चिनाए, ‘खतिवडा’ भनेनन् । त्यसको कारण छ । नेपालका ब्राह्मणका थर भारततिर, अरू भनौँ काशीको ब्राह्मण समाजले नचित्रे हुनाले अलमल पर्दो रहेछ । तर, ब्राह्मणहरूको ‘जेनरिक’ वर्गीय) नाम शर्मा या उपाध्याय भनिदिँदा सजिलो हुने भएकाले धेरैजसो त्यसै गर्थे । ‘मिश्र’, ‘भट्ट’, ‘आचार्य’ जस्ता भारततिर पनि प्रचलित थरवालाहरूले भने शर्मा या उपाध्याय लेख्नु पर्दैनथ्यो ।
नेपालको १९३८ सालको काण्ड (अठ्तीस साल पर्व) मा भागेका ‘मालिकहरू’ काशी पलायन भएपछि होमनाथ खतिवाडा (वि.सं. १९११—८४) पनि सपरिवार उतै लागे । उनका छोरा केदारनाथ त्यस बेला ३ वर्षका मात्र थिए । यिनै केदार पछि पिताका ‘पार्टनर’ भएर नेपाली पुस्तक प्रकाशन गर्ने संस्था ‘सुब्बा होमनाथ केदारनाथ’ का मालिक भए । साथसाथै पिता जस्तै तर पिताभन्दा पनि बढी रचनात्मक कवि भएर चम्के । बाबुले महाभारतका तीन पर्व मात्र श्लोकबद्ध गरेका थिए, छोराले समग्र महाभारत नै नेपाली श्लोकमा उतारिदिए । त्यही महाभारत अन्तर्गतको भगवद्गीताचाहिँ उनले १९८७ सालमै प्रकाशित गरेका थिए । त्यसको राजकीय संस्करण जस्तो गरी आर्ट पेपरमा ठूलो आकारमा रङ्गीन चित्रहरू समेत हालेर भव्य रूपमा छापिएको मोटो जिल्ला भएको एउटा पुस्तक मखमलको बट्टामा राखेर काशीमा नेपालकी श्री ३ बडामहारानीलाई चढाइएको रहेछ । सो पुस्तक घुम्दैफिर्दै मदन पुरस्कार पुस्तकालयको संकलनमा नम्बर ६७४ मा बस्न आइपुगेको देख्न र हेर्न सकिन्छ । सो बाहेक केदारनाथका नामका झ्ण्डै २ दर्जनजति पुस्तक दर्ता छन् मपुपु (wwww.madanpuraskar.org) मा । महाभारतको पुस्तकका १८ पर्वमध्ये ३ ओटा उनका पिता होमनाथका र बाँकी १५ पर्व यिनकै हुन् । सो बाहेक ‘शुभविवाह’ जस्तो शृङ्गारी किताब पनि यिनले लेखेको देखिन्छ ।
तर हामी केदारनाथका शृङ्गारको रस त्यसबाट होइन, उनकै ‘प्रेमसागर’ अर्थात् कृष्णचरित्रबाट लिइहेरौँ ः

“आफ्ना साथिहरू लिएर सँगमा दिन्भर बनैमा गईगाईहेरु चराउँथ्या हरि सदा सामान्य जन्झ् भई ।
जम्बा भैकन गोपिनीहरू सबै क्वै गोपिका घर्महा
गथ्र्या चित्त प्रसत्र बात्चित गरी श्रीकृष्णजीकै तहाँ ।।

मोहित् भै हरिमाथि खूप् विरहले व्याकुल् ति हुन्थ्या जसै
पागल्कै सरि भै तरङ्ग मनको बोल्थ्या परस्पर् तसै ।
यौटी गोपिनि मोह भै हरि उपर् व्याकुल् हुनाले तहाँ
लागी भत्र पनी ति सब् सँगिनिका साम्ने उसै बिच्महाँ ।।
धन्यै हो बन त्यो जहाँ प्रभुजि गै पाऊ कमल् धर्दछन्
धन्यै हुन् रुख ती छहारि हरिको जुन् जुन् रुखै गर्दछन् ।
धन्यै हुन् पशुपक्षि जो प्रभुजिको दर्शन् गरी मस्त छन्
हौँ हामीहरू नै अभागिनि अहो ! अन्तै हरी बस्तछन् ।।
बाँस्की आफु भयी निगालि उ पनी खोक्री रुखी भै अति
पान् गर्छे हरिका मधुर् अधरको मानूँ गराई पति ।
तेस्कै छन् प्रभुजी सदा वशमहाँ हत् त्यै उपर् धर्दछन्
ओठ्मा लाइ सुधा पिलाइ निशिदिन् खुप् अङ्कमाल् गर्दछन् ।।”
केदारनाथको शृङ्गारको रस लिएपछि उनकै पौराणिक रचनामा पनि चञ्चुप्रवेश गर्न उनको ‘चतुश्लोकी भागवत’ को एक श्लोक हेरौँ
“सृष्टीका पहिले थियाँ मइँ फगत् कोही थियानन् अरू
जो देख्छौ अहिले सबै बुझ् तिमी मेरै विभूतीहरू ।
सृष्टीका पछि फेर् महाप्रलयमा मैं एक् रहन्छू फगत्मेरा बाहिक केहि छैन कहिले मेरै स्वरूप् हो जगत् ।।”
केदारनाथका पिता होमनाथले भने महाभारतकै विराटपर्व सर्वप्रथम नेपालीमा उतारे । त्यसमा पञ्च पाण्डवहरू छद्मभेषमा विराट राजाका दरबारमा पस्नु अगाडि युधिष्ठिरले कालिकाको स्तुति गरेका छन् । त्यो कालिकास्तुति छुट्टै पनि छापिएको थियो । त्यो नेपाली पहाडका जनतामा अति नै लोकप्रिय भएको थियो । त्यहाँका मान्छेहरूले त्यसलाई बिहान बेलुका नियमित पाठ गर्ने गरेका थिए ।
“गुप्ती नाम धरी सकी नगरमा पस्न्या बखत्मा पनि
कस्ता रित्सित कष्टभोग् गरि ञहाँ उत्तीर्ण हूँला भनी ।
चिन्ता धेर हुँदा युधिष्ठिरजिको मन्मा लहड् यो गयो
सम्झ्L झ्ट्ट तहाँ जगज्जननिको स्तव् गर्न लाग्नू भयो ।।
मालिक् चौध भुवन्कि जो भगतका खातिर् ब्रजैमा गई
लीला गर्नुभयो यशोमतिजिका कोख्बाट पैदा भई ।
नन्दैका कुललाइ उज्वल गरी भक्तृ उपर् प्रेम् धरी
कंसैको पनि गर्व नाश् हुनगयो जस्का प्रभाव्ले गरी ।।
कंसैले गइ मार्नको मन गरी हात्मा उठायो जसै ।
विद्युत्का सरि रुप् धरी गगनमा उड्नुभयो झ्ट् तसै ।
मा दिव्य र दिव्य वस्त्र जसका खड्गै छ हात्मा पनी
प्रख्यात् छन् तिनलोकमा भगवती बैह्नी हरीकी भनी ।।
दुक्खित् भै जगदम्बिका चरणको ध्यान् गर्दछन् जो ञहाँ
पाप्को मुक्त भएर भक्तहरू ता पुग्छन् परम्पद् महाँ ।
गाई धापबिसे गिरिन् यदि भन्या सज्जन् जउन् रित् गरी
झ्क्छिन् सो रितले त भक्त दुखमा पर्दा उतार्छिन् धरी ।।”
नेपालीलाई महाभारत पढाउने बाबुछोरा पनि नेपाली साहित्य ‘शिशु’ अवस्थामै छँदा फस्टाएका व्यक्तित्व हुन् । नेपाली भाषामा मोतीराम भट्टभन्दा कम थिएन यिनको सेवा र समर्पण । तर यी ओझ्लमै रहे । ऐले त नेपालीमा एमए गर्ने विद्यार्थीले पनि यिनीहरूलाई कति चिन्दा हुन् !
Source: Teacher

Wednesday, February 28, 2018

होलीमा छाला जोगाउन डाक्टरको टिप्स

-|   डा. ललन खतिवडा, छाला रोग विशेषज्ञ, नेपाल स्किन हस्पिटल
छालामा दुईप्रकारका समस्या हुन्छन् । पहिलो कस्मेटिक समस्या, जुन हेर्दामात्र राम्रो देखिन्छ तर सौन्दर्यलाई बिगार्छ । जस्तै डन्डिफोर, कालोपोतो र चाउरीपनले शरीरलाई कुनै प्रकारको हानि या अप्ठ्यारो बनाउँदैन । दोस्रो– छालासम्बन्धी रोग नै हो । यसले सौन्दर्य र शरीर दुवैलाई हानि पुर्याउँछ । पछिल्लो समयमा छाला रोग बढिरहे
छाला समस्या धेरैजसो घामका कारणले हुने गर्छ । छालारोगी सोध्छन्– हाम्रा हजुरआमाका पालामा पनि घाम त लागेकै थियो । उहाँहरूको छालामा समस्या देखिएन । हाम्रो छालामात्र घामले किन बिगारेको ? हुन पनि हो, हाम्रा अग्रजभन्दा नयाँ पुस्तामा छाला समस्या बढी देखिएको छ । जलवायु परिवर्तन, आधुनिक रहन–सहन, खानपिन र तनाव यसका मुख्य कारण हुन् । घामले मात्र त समस्या ल्याउने होइन तर समस्यालाई घामले बढाउँछ । हिजोआज मानिस राम्रो देखिन धेरै किसिमका क्रिम प्रयोग गर्छन् । टीभीमा देखाइएका विज्ञापन र साथीभाइको सल्लाहकै भरमा क्रिम प्रयोग गर्दा छाला बिग्रने नै भयो ।
छालालाई कसरी बचाउने ?
सबैभन्दा पहिले छालालाई घामको विकीरणबाट सकेसम्म जोगाउनुपर्छ । घाममा निस्कनै नहुने होइन तर निस्कँदा कमसेकम २० एसपीएफको राम्रो कम्पनीको सनब्लक क्रिम लगाउनुपर्छ । जाडोमा दैनिक दुई र गर्मीमा दैनिक तीनपटकसम्म सनब्लक लगाएर हिँड्नुपर्छ । जथाभावी सनब्लक क्रिम लगाउनुहुँदैन । आफ्नो छाला कस्तोखालको हो, छाला विशेषज्ञसँग जाँच गराएर आफ्नो छालालाई मिल्ने क्रिम लगाउनुपर्छ । नत्र छालामा विभिन्नखालका समस्या देखापरी सधैंका लागि छाला बिग्रन सक्छ ।घामको प्रत्यक्ष विकीरणबाट बँच्न घाममा हिँड्दा मास्क, छाता, क्याप लगाएर हिँड्नुपर्छ । क्रिम लगाएर र घामबाट बचेरमात्र छाला राम्रो हुँदैन । हाम्रो जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । खानपिन र रहन–सहनमा ध्यान दिन आवश्यक छ । खानेकुरामा साइट्रिक एसिड भएका फलफूल र तरकारी बढी खानुपर्छ । नुनिलो, चिल्लो खानेकुरा बढी खानुहुँदैन । जंकफुडबाट सकेसम्म टाढै बस्नुपर्छ । यसले छालालाई मात्रै नभएर सम्पूर्ण स्वास्थ्य खराब गर्छ । त्यस्तै जीवन तनावरिहत बनाउनुपर्छ । कतिपय छाला समस्या घामका कारण नभएर शरीरका हार्मोनको गडबडीले पनि हुने गर्छ । सबै मनिसमा एकैप्रकारका हार्मोन हुँदैनन् । हार्मोनका कारण देखिने छाला समस्या बाहिरी उपचारले मात्रै सन्चो हुँदैन । हार्मोनियल उपचार गरेर यस्ता समस्या ठीक हुन्छन् ।
होलीमा छालालाई बचाऔँ
अनुहार शरीरको मुख्य अंग हो । अनुहारमा तीव्र गतिमा रक्तसञ्चार हुने भएकाले शरीरभित्र गडबडी हुनेबित्तिकै चाँडै प्रतिक्रिया देखाइहाल्छ । होली खेलेर रमाइलो गर्ने नाममा जथाभावी रङ प्रयोग गर्नुहुँदैन । जथाभावी रङ प्रयोगले छाला बिगार्छ । रङमा प्रयोग गरिने आईसीडी नामक केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पैदा गर्छ । कसैलाई रङ लगाएको ठाउँमा मात्र असर गर्छ भने कसैलाई शरीरभरि डाबर आउने, सास फेर्न अप्ठ्यारो हुने समस्या हुन्छ । होली खेल्दा थोरैमात्र रङ प्रयोग गर्नुपर्छ । धेरै रङ लागेमा छोटो समयमैै पखालिहाल्नुपर्छ । छालामा समस्या हुनेले होलीका रङ र फोहोर पानीले छालाका समस्या झन् बढाउँछ ।

उपचारमा सफल भएका उदाहरण
छाला विशेषज्ञ भई काम गरेको ६ वर्ष बित्यो । आजसम्म आइपुग्दा मैले लगभग दुई लाख बिरामीको उपचार गरिसकेको छु । रोग निको पार्न डाक्टरको पहलले मात्रै हुँदैन । बिरामीले पनि उत्तिकै धैर्य गर्न सक्नुपर्छ । बिरामी उपचार गर्न थालेपछि हिजोको आजै परिणाम खोज्छन् । समय लाग्छ । मेरो अनुभवमा धैर्य गर्ने बिरामीको रोग निको भएको छ । धैर्य गर्न नसक्नेले चाहिँ डाक्टरलाई मात्रै दोष दिन्छन् ।
हस्पिटल परिवर्तन गरी–गरी उपचार गर्नेहरू पनि नभएका होइनन् । हस्पिटल परिवर्तन गरेर रोग निको हुने होइन । आधा रोग त आत्मविश्वास र धैर्यले निको हुने हो । म मेरो प्रोफेसरले भनेको भनाइलाई गुरुमन्त्र सम्झन्छु । ‘यदि तिमीले उपचार गरेका बिरामीमध्ये ३० प्रतिशतमात्रै निको पार्न सफल भयौ भने पनि तिमी आफूलाई सफल सम्झ । प्रोफेसरको यही मन्त्र सम्झँदा म आफूलाई आफ्नो पेसामा सफल ठान्छु ।
चायापोतोका बिरामीको बाहुल्य
हामीकहाँ एकजना चायापोतोको बिरामी आउनुभएको थियो । चायापोतो उपचारका लागि नेपालभरिका स्किन हस्पिटलदेखि अन्तर्राष्ट्रिय रूपमै व्यस्त भनिएका स्किन हस्पिटलमा उपचार गरेर पनि आफ्नो समस्या समाधान नभएको तीन बिरामी सुनाउँथे । उपचार गर्दा गर्दा पार नलागेपछि दिक्क भएर मकहाँ आउनुभयो । उनले धेरै औषधि प्रयोग गरेर होला छाला पातलो र रगतै झर्लाजस्तो रातो थियो । लाखौँ–लाख पैसा खर्च गर्दा पनि ठीक भएन भन्दै उनी रोइन् । नौ महिनाको समय मागेर उहाँको उपचार सुरु गरेँ । बिस्तारै उहाँको समस्या हराएर जान थाल्यो । म आफैँ छक्क परेँ । बिरामी ठीक हुन्छ भनेर सम्झाए पनि म आफैँ ढुक्क थिइनँ । सोच्थँे– संसारमै कसैले ठीक गर्न नसकेको उपचार मैले कसरी गर्न सकुँला र ? म त केवल आफ्नो बेस्ट ट्राइमात्रै गर्दै थिएँ । हेर्दाहेर्दै नौ महिना भनेको ६ महिनामै उहाँ पूरै ठीक भएर जानुभयो । त्यतिबेलम मैले महसुस गरेँ– आाखिर असम्भव भनेको केही रहेनछ । अरूले नसकेर छाडेका काम म पनि सक्दिनँ भनेर छाड्नुहुँदैन । हामीले प्रयास निरन्तर गर्ने हो भने सफल भइन्छ ।
दुबी झन् गाह्रो 
चायापोतोजस्तै दुबी पनि निको पार्न गाह्रो हुने छालारोग हो । समय पनि उत्तिकै लाग्छ । डाक्टर खतिवडाले सुनाए, ‘एकजना दुबीको बिरामी उपचार गराउन आउनुभएको थियो । भर्खरकै हुनुहुन्थ्यो । उहाँको समस्या जटिल थियो । दुबीले शरीर पूरै सेतै भइसकेको थियो । अनुहारमा मात्रै अलिकति कालो बाँकी थियो । नेपालको सबै हस्पिटलमा उपचार गराउँदा पनि ठीक भएन भन्नुहुनथ्यो । सेतो शरीर कालो बनाउने अवस्था थिएन । कालो पनि सेतो बनाउन पाए छालाजति सबै सेतै देखिए समस्या समाधान हुन्थ्यो भन्ने उहाँको चाहना थियो ।’
उपचार सजिलो थिएन । मैले कहिल्यै त्यस्तो उपचार गरेकोसमेत थिइनँ । मैले बाहिरबाट औषधि मगाएर उहाँको उपचार गरेँ । समय लाग्यो । पैसा धेरै लागेन । उहाँ ठीक हुनुभयो । विवाह पनि भयो । हिजोआज उहाँ धेरै खुसी हुनुहुन्छ । छाला समस्याले जीवनदेखि हारेका बिरामी ठीक पार्नसफल हुँदा काम गर्ने ऊर्जा प्राप्त हुन्छ ।
डन्डिफोरपीडा
अनुहारभरि डन्डिफोर भएकी बिरामी आउनुभएको थियो । उपचारका लागि नेपालदेखि अमेरिकासम्म पुग्दा पनि समस्या समाधान भएन भन्नुहुन्थ्यो । हुन त उहाँलाई उपचार गर्ने औषधि मैले अमेरिकाबाटै मगाएको थिएँ । अमेरिकामा उहाँको कस्तो उपचार भयो मलाई थाहा भएन । तर त्यहीँबाट ल्याएको औषधिले मैले उहाँलाई ठीक पारेँ । उहाँ धेरै खुसी हुनुहुन्छ । ठीक भएर घर जानुभए पनि हिजोआज हामीबीच कुराकानी भइरहन्छ ।


को छ । पहिले मानिसले छालाका समस्यालाई त्यति गम्भीर रूपले लिँदैनथे । हिजोआज सौन्दर्यसँग जोडर हेर्ने भएकाले छालारोगी दिनप्रतिदिन बढिरहेका छन् ।
प्रस्तुती : फातिमा बानु

Saturday, January 7, 2017

मगर जाति र भाषा

मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल थलो मान्छन् । गोर्खाली सेनासित लागेर मगरहरूको यो समूह पूर्वी नेपाल र उत्तर पूर्वी भारतसम्म पनि छरिएको छ ।
यस समूहका केही मगर बस्तीहरू त दैलेख र सुर्खेतमा पनि पाइन्छन् । मगरहरूको यस समूहले भाषालाई 'ढुट' भन्ने हुनाले यस समूहलाई अचेल 'मगर ढुट' भनेर पनि चिनिन्छ । रोल्पा, रुकुम र पश्चिम बाग्लुङको निसी र भुजी खोलातिर ठुलो सङ्ख्यामा बसोबास गर्ने मगरहरूको समूहले भाषालाई 'पाङ' भन्छन्, त्यसैले अचेल मगरहरूको यस समूहलाई 'मगर पाङ' अथवा 'मगर खाम' भन्ने चलन छ । तेस्रो किसिमको मगर भाषा बोल्नेहरू डोल्पामा बस्छन् । उनीहरू भाषालाई सम्भवतः 'के' मात्र भन्छन् ।
उनीहरू 'काइके' भाषा बोल्छन्, जहाँ 'काइ'को अर्थ 'अप्सरा' होला, त्यसैले उनीहरूको भाषाको नाउँबाट ती मगरहरू आफ्नो भाषालाई अप्सराको भाषा ठान्छन् जस्तो लाग्छ । डोल्पामै 'पुइके' भाषा पनि भएको सूचना डा. दानराज रेग्मीले दिएका छन् । मेरा विचारमा पुइके मातृभाषीहरू पनि काइके भाषाको नजिकैको साइनो लाग्ने भाषा बोल्छन् होला, तर पुइके भाषा बोल्नेहरू आफुलाई मगर भनेर चिनाउँछन् कि चिनाउँदैनन्, त्यो चाहिँ मलाई थाहा छैन ।
डा. माधवप्रसाद पोखरेल
भाषा वैज्ञानिक दृष्टिले काइके भाषाचाहिँ तिब्बती भाषासित नजिकैको ऐतिहासिक साइनो लाग्ने तामाङ, गुरुङ, थकाली, मनाङे, नार, फु, घले, दुरा, ह्लोमी, ह्योल्मोजस्ता भोट चिनियाँ भाषा परिवारमा पर्छ । संगीतमा 'सा,रे,ग,म' को फरक उच्चारण गर्न जसरी रुद्र घण्टी तल माथि सार्नुपर्छ, त्यसै गरी एउटै जस्तो लाग्ने अक्षरको उच्चारण गर्दा रुद्र घण्टी तल माथि सार्‍यो भने, यी भाषामा चिनियाँ भाषामा जस्तो नयाँ अर्थ दिने शब्दै बेग्लै बन्छन्, त्यसैले नेपाली मातृभाषा हुनेका कानमा एउटै जस्तो लाग्ने 'ङा' शब्दलाई रुद्र घण्टी तल माथि सारेर नुवाकोट रिसिङ्खुका तामाङहरूले चारओटा बेग्ला बेग्लै शब्द बनाए झैँ काइके भाषा बोल्ने वक्ताहरू पनि उच्चारणको फरकले एउटै अक्षरका कम्तीमा चार चार ओटा शब्द बनाउँछन् । रुद्र घण्टीको उँचाइको फरकले एउटै अक्षरका अनेक अर्थ बन्ने भाषालाई तानल भाषा भन्छन् । यस आधारमा डोल्पाका मगरहरूले बोल्ने काइके चाहिँ तानल भाषा हो । काइके भाषालाई पूर्णतः एकाक्षरी भाषा भन्न सकिन्छ ।
भाषा वैज्ञानिक दृष्टिले रोल्पा, रुकुम र पश्चिम बाग्लुङ अर्थात् गण्डकी र कर्णाली नदी बिचमा बसोबास गर्ने मगरहरूले बोल्ने भाषा (मगर पाङ् मगर खाम) झन्डै पूर्वी नेपालका राई लिम्बुले बोल्ने किराँती भाषा जस्तो छ । काइके भाषामा क्रियाहरू एकदम छोटा हुन्छन् भने, मगर पाङमा चाहिँ किराँती भाषामा जस्तै क्रियाहरू एकदम लामा हुन्छन् । धेरैजसो त एउटा क्रियाले नै पुरै वाक्यको काम गर्छ । नेपालीमा 'कुट्यो' भन्ने एउटा शब्दले पुग्ने ठाउँमा रुकुमको तकसेरातिर बोलिने मगर भाषामा ('मलाई कुट्यो', 'हामी दुई जनालाई कुट्यो', 'हामी तिन जनालाई कुट्यो', 'तँलाई कुट्यो', 'तिमीहरू दुई जनालाई कुट्यो', 'तिमीहरू धेरै जनालाई कुट्यो', 'उसलाई कुट्यो', 'उनीहरू दुई जनालाई कुट्यो' र 'उनीहरू धेरै जनालाई कुट्यो') नौ ओटा बेग्ला बेग्लै शब्द चाहिन्छन् ।
यस्ता भाषालाई सार्वनामिक भाषा भन्ने नाउँ हज्सनले दिएका छन् । नेपालमा सार्वनामिक भाषा बोल्ने यी मगर मात्र नभएर राजी, राउटे, व्यासी, चेपाङ, वनकरिया, हायु, राई र लिम्बु भाषाहरू पर्छन् । नेपालका भाषामा सरल सर्वनामीकरण र जटिल सर्वनामीकरण पाइन्छ । आर्य परिवारमा मैथिली र दराईमा जटिल सर्वनामीकरण पाइन्छ । झापा र मोरङमा बोलिने भोट बर्मेली धिमाल भाषा र परिवारमा कसैसित नमिल्ने कुसुन्डा भाषामा चाहिँ सरल सर्वनामीकरण पाइन्छ । मगर पाङ भित्रकै जटिल सर्वनामीकरणमा पनि पर्वते भाषिका जति जटिल त रोल्पामा बोलिने सेसी भाषिका पनि छैन । यसै मगर भाषाको गमाले भाषिका बुझ्न त यसै भाषाका अरु भाषिका बोल्नेहरूलाई पनि गारो पर्छ ।
सबैभन्दा पूर्वतिर बसोबास गर्ने मगरहरूले बोल्ने भाषालाई अचेल 'मगर ढुट' भन्ने चलन भएको कुरो माथि लेखीसकियो । मगर ढुट बोल्ने मगरहरूले नै सबभन्दा ठुलो भौगोलिक क्षेत्र ओगटेका छन्, सबभन्दा धेरै ऐतिहासिक सामग्री बटुलेका छन्, सबभन्दा धेरै राजनीतिक, प्रशासनिक र सैनिक शक्ति कमाएका छन् र नेपालको राष्ट्र निर्माणमा सबभन्दा ठुलो भूमिका पुरा गरेका छन् । यसै समूहका मगरहरू नै विश्वप्रसिद्ध पनि भएका छन् । मगर ढुटका कम्तीमा तिन ओटा भाषिका देखिन्छन् ।
लो बहादुर थापाले गरेको अनुसन्धान अनुसार, पश्चिम स्याङ्जा, पूर्वी स्याङ्जा र अन्यत्र गरी यो मगर भाषामा कम्तीमा तिन किसिमको क्षेत्रीय भेद देखिन्छ । पश्चिम स्याङ्जाको लसर्घामा 'मैले खाएँ' भन्नु पर्दा 'ङाज्याङ्' भन्नुपर्छ, पूर्वी स्याङ्जामा 'ङाज्या' भन्नुपर्छ र अन्यत्र 'ज्याले' भन्नुपर्छ । यस समूहका मगरहरूले अन्य भौतिक विकास धेरै गरेकाले होला, झन्डै ३०-३५ प्रतिशत मगरहरूले मात्र आफ्नो पुख्र्यौली भाषा बोल्न सक्छन् ।
हङ्गेरीका जातिहरू आफुलाई मग्यार भन्दछन्, कज्जाकहरू पनि आफुलाई मजर भन्छन् भन्ने मैले कतै पढेको थिएँ अनि मङ्गोलियाका बासिन्दा नै मङ्गोल हुन् । संसारभरकै एकनासे अनुहारको बान्की भएकालाई 'मङ्गोलोइड' (मङ्गोलियाका बासिन्दा जस्ता) भन्ने नाम बेलाइती मानवशास्त्रीले कुनै वेला दिए । भाषा विज्ञानको सन्धि नियम अनुसार, संसारभरका भाषामा लकार र रकार (वा रेफ) मा पारस्परिक परिवर्तन हुन्छ । यसरी 'म-ग-र' अनि 'म-ग-ल' व्यञ्जनबाट बनेका शब्द एउटै माउका सन्तान हुन सक्छन् । ऐतिहासिक भाषा विज्ञानको यसै सिद्धान्तका आधारमा मगर, मग्यार र मङ्गोलहरू पुर्ख्यौली साइनो लाग्ने हुन सक्छन् ।
मध्यएसियाको पुरातात्विक अन्वेषण र ऐतिहासिक खोजीका आधारमा मङ्गोल, तुर्क, कज्जाक, किर्घिज, युगुर, मन्चुहरू एउटै मूलका देखिन्छन् । जनकलाल शर्माले मगरहरू मध्य एसियाबाटै नेपाल आउने मङ्गोल हुन् भनेका छन् । अनुहार हेर्नु हो भने कज्जाक र किर्घिजहरूको अनुहार मगरहरूसित मिल्छ भने, मङ्गोलियाका बासिन्दाहरूको अनुहार चाहिँ तिब्बतीहरूसित मिल्छ । 'राजा केसर' भन्ने लोक महाकाव्य आज पनि तिब्बत र मङ्गोलियाका जातिहरूले साझा महाकाव्य वा गाथाका रूपमा गाउँछन् ।
मैले मगर ढुट र मग्यार (हङ्गेरियाली) भाषाका आधारभूत शब्दावलीमा १६ प्रतिशत समानता पाएको छु । यसका आधारमा मगर ढुट र मग्यार भाषा बोल्नेहरूका साझे पुर्खा झन्डै ६ हजार वर्ष अघि एउटै बगालमा थिए भन्ने निष्कर्ष निकालेको छु । तुर्की, हङ्गेरियाली, कोरियाली, जापानी आदि भाषाहरूलाई युराल-अल्टाइक भाषा परिवार भन्ने नाउँ दिइएको छ । यस भाषा परिवारको विशेषता के हुन्छ भने, यहाँ प्रेरणार्थक क्रिया अनेक पल्ट बनाउन सकिन्छ ।

इतिहासमा एउटा गाँठो के पर्छ भने, उत्तर वैदिक साहित्यले किरात भनेर चिनेको जातिचाहिँ रोल्पा र रुकुमको मगर थियो कि क्या हो ?

जापानी भाषामा 'ताबेरु' भनेको 'खानु', 'ताबेसासेरु' भनेको 'खुवाउनु', 'ताबेसासेसासेरु' भनेको 'खुवाउने पार्नु', आदि । मगर भाषाका क्रियामा पनि त्यस्तै किसिमको प्रेरणार्थक क्रिया (हाट्के 'उम्लिनु'-हाटाक्के 'उमाल्नु'-हाटाकाक्के 'उमाल्न लगाउनु') बन्छ । मगर भाषामा जस्तो यस्तो प्रेरणार्थक क्रिया बन्ने नेपालमा अर्को भाषा छैन । यसरी एकातिर मगर भाषा युरालिक भाषा परिवारको छेउमा पुग्न सक्ने देखिन्छ भने, अर्कातिर यसमा भोट चिनियाँ भाषा परिवारका बेहोरा नै प्रशस्त देखिन्छ । यसरी मगर ढुट भाषा युरालिक बेहोरा मिसिएको भोट चिनिया भाषाका रूपमा चिनिने देखिन्छ ।
मगर पाङ वा मगर खामले पनि अनुसन्धानमा समस्या तेस्र्याएको छ । यो भाषा किराँती भाषाका बेहोराले समृद्ध छ भन्ने कुरो माथि नै उल्लेख गरियो, तर इतिहासमा कतै कतै मगर जातिलाई किराँती लेखेको पाइए पनि मगरलाई कसैले किराँती भनेर ठोकुवा गरेको छैन । डा. सुनीति कुमार चटर्जी (१९७४ ई०) ले 'किरात-जन-कृति' भन्ने किताबमा किराँती भनेर पूर्वी नेपालका राई लिम्बुलाई मात्र चिनाएका छन् । चटर्जीले चिरैतो पूर्वी नेपालका किराँतीहरू मात्र चलाउँछन् र चिरैतो शब्द संस्कृतको 'किराततिक्त' भन्ने शब्दबाट बनेको हो भन्ने व्युत्पत्ति निकालेका छन् । अथर्व वेद र अरू उत्तर वैदिक ग्रन्थहरूमा 'किरात' शब्द पाइन्छ ।
संस्कृत महाकवि भारविले 'किरातार्जुनीय' महाकाव्यमा किरात रूप शिवसित अर्जुनले युद्ध गरेको कुरो लेखेका छन् । किथ र म्याक्डोनेलले 'वेदिक इन्डेक्स' भन्ने कृतिमा वैदिक साहित्यका आधारमा बेग्लाबेग्लै देश र जाति क्षेत्र देखाउने नक्सा प्रकाशित गरेका छन् । त्यस नक्सामा किरातहरू बसोबास गर्ने क्षेत्र ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत पर्दैन, बरु गण्डकी र कर्णाली बिचको भूभाग देखाइएको छ । यसबाट इतिहासमा अर्को एउटा गाँठो के पर्छ भने, उत्तर वैदिक साहित्यले किरात भनेर चिनेको जाति चाहिँ रोल्पा र रुकुमको मगर थियो कि क्या हो ?
Source:Annapurna

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *

Baganaaskali Palpa Census 2078