Saturday, October 2, 2010

रेबिज : कुकुरको हाल नहोस

-अतुल मिश्र

'कुकुरको जस्तै मृत्यु हुनु ।' समाजमा कायम रहेको उखान-टुक्का भए पनि धेरैजसोले अति आवेगमा आउँदा यो शब्दलाई आपmना विरोधीका लागि पनि प्रयोग गर्छन् । तर यो मृत्यु यस्तो हुन्छ कि, जसको  कल्पना सपनामा पनि गर्न सकिँदैन ।  

यहाँ हामी कुकुरलगायतका जनावरले टोक्दा हुने रोग रेबिजको कुरा गरिरहेका छौं, जसका रोगी विस्तारै कुकुरको मृत्यु मर्न बाध्य हुन्छन् । 
मुलुकमा यस्ता मृत्यु पाउनेहरूको संख्या भने वर्षेनी २ सयभन्दा बढी भएको अनुमान गरिन्छ । करिब ४० हजार नेपाली वर्षेनी कुकुरलगायतका जनावरले टोक्दा रेबिजको जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) को तथ्यांकअनुसार वर्षेनी ५५ हजार व्यक्तिको रेविजबाट मृत्यु हुन्छ, यसमध्ये अधिकांश व्यक्तिलाई कुकुरको टोकाइले रेबिज हुने गर्छ । पशुका माध्यमले सर्ने 'भाइरल जुनोटिक' संक्रमण रेबिजलाई हाइड्रोफोबियासमेत भनिन्छ । 

रेबिजको लक्षण देखिन थाल्दा शरीरमा असहनीय पीडासँगै रोगी हावा, पानी प्रकाशसँग तर्सिन थाल्छ । रोगी खानपिउन नसकी पीडा खप्दै तड्पिरहेका हुन्छन् । उनीहरूलाई छुट्टै वार्डमा राखेर नशाका माध्यमबाट ग्लुकोज दिने 

गरिन्छ । यो रोगले अन्ततः मृत्यु नै हुने भएको र हालसम्म कुनै उपचार नभएकाले चिकित्सकले मृत्यु नभएसम्म रोगीको कष्टलाई न्यून गर्न प्रयास मात्र गर्छन् ।  

'एक्काइसांै शताब्दीमा समेत जनचेतना अभावले रेबिजबाट २ सयभन्दा बढी नेपाली कुकुरको मृत्यु वरण गर्न बाध्य छन्,' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. सरोज राजेन्द्र भन्छिन्, 'समयमै विचार पुर्‍याएर उचित चिकित्सकीय सहयोगमा यसबाट बाँच्न सकिन्छ ।' 

यो संक्रमित पशुले टोक्दा उसको र्‍यालले अन्य जनावर वा मानिसमा सर्छ । हालसम्म रेबिज रोग लागिसकेपछि यसको उपचारका लागि कुनै विशेष एन्टि- भाइरल औषधि विकसित भएको छैन । 

यो रोग जनावरको टोकाइबाट मात्र नभई संक्रमित जनावरले घाउ चाट्दा वा शरीरको श्लेष्म भिल्ली भएको ठाउँ, जस्तै आँखा, मुखलगायत भाग सम्पर्कमा आउँदासमेत हुन सक्ने टेकु अस्पतालकै डा.राजेश साह बताउूछन् । टेकु अस्पतालमा दिनहुँ करिब डेढ सय बिरामी कुकुरको टोकाइबाट प्रभावित भएर उपचारार्थ आउने गरेका छन् ।   

नेपालमा सडक-कुकुर रेबिज फैलाउन मुख्य जिम्मेवार मानिन्छन् । टेकु अस्पतालको तथ्यांकअनुसार दिनहुँ डेढ सयजति बिरामी कुकुरको टोकाइबाट प्रभावित भएर आउनेहरूमध्ये १ सय ३० जनासम्म सडकमा बस्ने छाडा कुकुरको टोकाइबाट प्रभावित छन् । रेबिज फैलाउनमा कुकुर प्रमुख मानिए पनि यो संक्रमण बिरालो, चमेरो, बाँदर, खरायो, घोडा, बाख्रा, स्याल, फ्याउरो, गाई, न्याउरीमुसालगायतका जंगली जनावरबाट समेत सर्ने गरेको छ । 

रेबिजको विषाणुले सबैभन्दा पहिले स्नायु, त्यसपछि स्पाइनल कर्ड र मस्तिष्कलाई प्रभावित पार्छ । यसको विषाणु र्‍याल तथा प्रभावित पशुको मस्तिष्कमा हुन्छ । लक्षण सुरु भएपछि रेबिज प्राणघातक 

हुन्छ । यसैले रेबिज हुने जोखिम रहेकालाई एन्टिरेबिज खोप र रेबिजको इम्युनोग्लोब्युलिनसमेत दिइन्छ । 

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन 

-सीडीसी) का अनुसार रेबिजबाट ग्रस्त व्यक्तिमा रेबिजको लक्षण धेरै दिनपछि देखिन सक्छ । यसको संक्रमण भएको एक साता वा एक वर्षपछिसमेत लक्षण देखिन सक्छ । तर धेरैजसो व्यक्तिमा भने रेबिजको लक्षण ४ देखि ८ साताभित्र विकसित हुन्छ । 

यस्तै, सीडीसीका अनुसार रेबिजले संक्रमित जनावर कसैलाई घाँटी वा टाउको छेउछाउमा टोक्दा लक्षण तीव्र गतिले देखिन थाल्छ । यसो हुँदा रेबिजको भाइरस धेरै छिटो पीडित व्यक्तिको मस्तिष्कसम्म पुग्छ । मुख्यतः मृत्युको केही दिनअघि यसको लक्षण देखिने गर्छ । 

रेबिजको प्रारम्भिक लक्षणमा पीडित व्यक्तिलाई जनावरले टोकेको स्थानमा झमझम हुन्छ । सीडीसीका अनुसार ज्वरो, टाउको दुख्नु, बचैनी, चिन्ता, व्याकुलता, भ्रम, निल्नमा अप्ठ्यारो हुनु र धेरै बढी र्‍याल उत्पादन हुने देखिन्छ । यस्तै, रोगी पानीबाट डराउन थाल्छन् । पानीबाट डराउनुको कारण भने रोगीलाई निल्नमा अप्ठ्यारो हुनु हो । अनिद्रा, मतिभ्रम वा भ्रम वा आंशिक पक्षाघात समेत देखिनु यसका अन्य लक्षण हुन् ।

'रेबिज भइसकेपछि कुनै उपचार नरहेकाले जनावरले टोक्ना साथ चिकित्सकको परामर्शमा एन्टि- रेबिज भ्याक्सिन- लगायतका उपचार प्रक्रिया थाल्नुपर्छ,' डा. राजेन्द्र बताउँछन् ।  

कति बेला सुइँ लगाउने ? 

रेबिज संक्रमित जनावरले टोक्दा सुइँ लगाउनुपर्छ । 'घरपालुवा एन्टि-रेबिज खोप लगाइएको कुकुरले समेत यदि नराम्ररी मासु लुछेर रगत निकाल्ने गरी -थर्ड डिग्री) टोक्यो भने १० दिन कुर्नुको सट्टा एन्टि-रेबिज खोप लगाउनु राम्रो हुन्छ,' डा. साह भन्छन्, 'टोक्ने जनावर रेबिज संक्रमित थियो वा थिएन किटान गरिरहनुभन्दा सीधै खोप लाउनु बुद्घमिानी हुन्छ ।'

कुनै पनि जनावरले टोकेपछि रेबिज लाग्नबाट बँच्न दुई प्रकारका सुइँ दिइने गरिन्छ । रेबिज इम्युनोग्लोविन 

-एआरआरजी) को सियो तीव्र गतिले काम गर्छ । यो सुइँले संक्रमित गर्नबाट भाइरललाई रोक्छ । यो सुइँलाई जनावरले टोकेको स्थान छेउछाउमा दिइन्छ । डब्लूएचओका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू र एउटाभन्दा बढी ठाउँमा रगत आउनेगरी टोकेको वा टाउकोनजिक टोकाइ भएको खण्डमा समेत यो सुइँ दिनुपर्छ ।  

यस्तै, एन्टि-रेबिज खोपको पूर्ण मात्रा जनावरले टोकेको एक महिनाभित्रै दिइन्छ । यो टोकाइको स्थिति हेरी ३ वा ५ पटक दिनुपर्ने हुन सक्छ । यो खोपले शरीरमा फैलिएको भाइरसको पहिचान गरी त्यसविरुद्घ लड्छ । यसलाई नाडीमा लगाइन्छ ।

टोकाइको तत्काल प्राथमिक उपचार 

घाउ भएको स्थानमा साबुन-पानी, हाइड्रोजन पेरोक्साइड वा अल्कोहलजस्ता कुनै एन्टि-सेप्टिकले राम्ररी धुनुपर्छ । कुनै एन्टि-बायोटिक मलम घाउमा लगाएर त्यसलाई नटाँसिने पट्टीले छोप्नुपर्छ । सानो रक्तनलीलाई नोक्सान पुगे/नपुगेको यकिन गर्न घाउ छेउछाउको स्थानमा समेत ध्यान दिनुपर्छ । घाउ अलि चिलाउन सक्छ । यस्तो घाउ एक सातादेखि १० दिनभित्र निको हुन सक्छ । यदि घाउ निको भएन, रक्तनली क्षतिग्रस्त छ वा संक्रमणको लक्षण देखिएको 

छ भने चिकित्सकीय परामर्श लिनुपर्छ । 

कुकुरले टोकेको घाउलाई खुल्ला राख्नुपर्छ । बढी घाउ भएको स्थितिमा टाँका लगाउनु आवश्यक भए न्यूनतम २४ देखि ४८ घन्टापछि मात्र टाँका लगाउनुपर्छ । तर तत्काल टाँका लगाउँदा विषाणु तीव्र रूपमा फैलने प्रवल सम्भावना रहन्छ ।
(कान्तिपुर दैनिकबाट ) 

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *

Baganaaskali Palpa Census 2078