Saturday, July 11, 2015

बाहुबली: 'लार्जर देन लाइफ'

अशेष अधिकारी, काठमाडौं


सय वर्ष लामो इतिहास बोकेको भारतीय फिल्म जगतमा एस.एस राजामौली एउटा 'जिनियस' हुन्। भारतीय फिल्म निर्माणमा आजको मितिमा कसैले 'लार्जर देन लाइफ'को परिभाषालाई कुनै भारतीय निर्देशकले बुझेको छ र उतारेको छ भने त्यो राजामौलीनै हुन्। हरेक निर्देशकको सपना आफ्नो फिल्मलाई 'लार्जर देन लाइफ' बनाउने हुन्छ। त्यो राजामौलीले गरेर देखाइदिएका छन्।
उनका फिल्मले, हालको मितिमा त्यो उपमाको एक मात्र हकदार उनी नै भएको पुष्टि गर्छ। शुक्रबार रिलिज भएको उनको पछिल्लो फिल्म 'बाहुबली, द बिगिनिङ्'ले उनलाई भारतीय फिल्मको 'स्ट्यान्डर्ड'लाई अन्तर्राष्ट्रिय मापदण्डमा खरो उतार्ने काम गरेको छ।
'बाहुबली' फिल्मले भारतीय सिनेमालाई नयाँ डाइमेन्सन दिन सफल छ। फिल्मले एउटा काल्पनिक राज्यको कथा भन्छ। फिल्मले हिन्दू संस्कृतिमा हजारौ वर्षदेखि जीवितै रहेको 'महाभारत' र 'रामायण'को कथालाई नयाँ स्वादमा पस्केको छ। फिल्ममा ती कथामा रहेका 'गुड एण्ड ब्याड'को द्वन्दलाई 'लार्जर देन लाइफ'को रुपमा पस्केको छ। पछिल्लो फिल्म 'मख्खी'मा एउटा झिंगाको बदलाको कथा रोचक ढगंले पस्केका राजामौलीले 'बाहुबली'मा मिथकीय कथा 'महाभारत'को कथालाई नयाँ कल्पनाको देशमा उतारेका छन्।
एउटा बालक बोकेर भाग्दै गरेकी रानीबाट फिल्मको कथा सुरू हुन्छ। बालकको हत्या गर्न पछाडि लागेका सैनिक झुण्डलाई माथ दिदैं रानीले आफ्नो ज्यान जोखिममा राख्दै बालकलाई बचाउँछे। त्यो बालक सामान्य हुँदैन। फिल्म अगाडि बढ्दै जाँदा बालक युवा हुन्छ र जून ठाँऊका  लागि ऊ हो, त्यहाँ पुग्दछ। फिल्मले बोकेको कथा यही हो।
फिल्म कथा राजमौलीले दर्शकलाई ध्यान अन्यत्र मोड्न नदिई भनेका छन्। फिल्ममा उनको कथानक शैली पहिलो हाफ केही सुस्त लागे पनि दोस्रो हाफ पछि दर्शकलाई हेरेको हेर्‍यै पार्छन्। फिल्मका एक्सन दृश्यले हलिउड फिल्मका दृश्य भुलाइदिन्छ। फिल्ममा नायक भन्दा खलनायक भयंकर लाग्छ। त्यस्ता खलनायकसँग नायकको भिडन्तलाई निर्देशकले रोचक ढंगले भनेका छन् जून निर्देशकको निर्देशकिय सुन्दरता हो।
मौलीको यो निर्देशकीय सुन्दरता पछिल्ला सिनेमामा झनझन परिस्कृत र बढेको देख्न सकिन्छ। फिल्मको विर्सन नसकिने अर्को पाटो भनेको फिल्ममा प्रयोग गरिएको कम्पूटर जेनेरेटेड इमेजरी (सिजिआइ) प्रविधि हो। फिल्मको सिजिआइ हलिउड स्तरको छ। निर्देशकले त्यसको मद्धतबाट आफ्नो निर्देशकिय कल्पनाको उडानलाई सर्वोत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। फिल्म हेरिरँदा दर्शकले 'वाह' भन्छन्। यसअघिका फिल्ममा पनि प्राविधिक प्रयोगमा एक कदम अगाडी रहँदै आएका राजामौली यसमा झन अगाडी देखिएका छन्।
फिल्ममा पात्र छनोट उस्तै सशक्त छ भने कलाकारहरुले पनि चरित्रलाई ठ्याक्कै उतारेका छन्।
झण्डै ३ सय करोड भारतीय रुपयाँको खर्चमा बनेको दुई भागको यस सिनेमाले दर्शकलाई अन्तयमा यस्तो मोडमा ल्याएर छोडिदिन्छ कि दर्शकलाई फिल्म सकिएपछि नै अर्को भाग हेर्न व्यग्र बनाइदिइसक्छ। अर्को भागको प्रतिक्षा दर्शकको हुटहुटी बनिसक्छ निर्देशकका लागि योभन्दा ठूलो सफलता के हुन सक्छ। करिब १५९ मिनेट लामो फिल्ममा राजामौलीले फिल्मलाई 'लार्जर देन लाइफ' बनाउन कुनै कसर बाँकि राखेका छैनन्।
फिल्म 'म्याग्नम ओपस' बन्न उद्धत देखिन्छ। फिल्मले आफ्नो अलग्गै स्थान स्थापित गरेको छ।
Source:Setopati

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *

Baganaaskali Palpa Census 2078