Tuesday, January 3, 2017

नचिनेको फलले फेरेको जीवन

दोलखा चरिकोटका श्याम खड्काको बारीमा एउटा अनौठो फल दिने लहराको झ्याङ थियो । त्यसमा हरेक वर्ष सुनौलो र झुसैझुस भएको अण्डाकार फल फल्थ्यो । उक्त बोट र फलबाट खड्का पूर्ण रूपमा बेखबर थिए ।

खड्का र उनका परिवारले लहरामा फूल फुलेको, फल लागेको, फल बढ्दै गरेको, फल पाकेको र अन्तमा कुहिएर झरेको हेरिरहन्थे । यो क्रम सात वर्षसम्म दोहोरिरह्यो । लहरामा फल फलिरह्यो अनि हरेक वर्ष खेर गइरह्यो ।तर, एक दिन खड्काको घरमा सामुदायिक वन परियोजनाबाट केशव शिवाकोटी आए । शिवाकोटीले लहरा र फललाई नियालेर हेर । अनि, खड्कालाई खुशी हुँदै भने, ‘अहो तपाईंको बारीमा त सुन पो फलेको रहेछ !’ फलबारे अन्जान खड्काले शिवाकोटीलाई सोधे, ‘कस्तो सुन, के सुन ?’शिवाकोटीले उक्त बोट किवीको भएको र त्यसमा फलिरहेको फल निकै फलदायी र महँगो भएको बताए । त्यसपछि खड्का चकित भए । ‘करिब सात वर्ष मैले सुनजतिकै महँगो र स्वास्थ्यलाई निकै फाइदा पुग्ने फललाई त्यत्तिकै खेर फालेको रहेछु,’ एक दशक अघिको कुरा सम्झदै खड्काले भने, ‘वास्तवमै यो फल त निकै महँगो पो रहेछ ।’खड्काले शिवाकोटीको सल्लाह र सुझावअनुसार किवीको व्यावसायिक खेती सुरु गरे । अहिले उनले आफ्नै बारीका किवीको फल बिक्री गरेर वार्षिक १ लाख १६ हजार र किवीको बिरुवा बिक्री गरेर वार्षिक १८ लाख आम्दानी गरिरहेका छन् । पाँच लाखको लगानीबाट किवी खेती सुरु गरेका खड्का नर्सरीमा हाल ४५ लाख लगानी पुगेको बताउँछन् । उनीसँग अहिले फल दिने किवीका २० वटा बोट छन् ।किवीको विषयमा जानकारी पाएलगत्तै खड्काले आफ्नो बारीमा फलेको किवीलाई टिपेर पहिलो पल्ट काठमाडौँ कालिमाटीमा ल्याएर बिक्री गरेका थिए । ५० केजी किवी बिक्री गर्दा उनले आठ हजार पाए । ‘५० किलो किवी आठ हजारमा बिक्यो भन्दा घरमा कसैले पनि पत्याएनन्,’ २०६१ सालतिरको कुरा सम्झदै खड्काले भने, ‘तर, मैले पैसा देखाँउदै किवीको महŒव बुझाएपछि सबै छक्क परे ।’
खड्काका अनुसार किवी प्रतिकिलो चार सयदेखि आठ सयसम्म बिक्री हुन्छ । दोलखाकै स्थानीय बजारमा प्रतिकिलो चार सय पर्ने किवी काठमाडौँका बजारमा आठ सयसम्म पर्ने गर्छ । एउटा किवीको बिरुवा तयार हुन कम्तीमा पनि दुई वर्षको समय लाग्छ । किवीको बोटको आयु ५० देखि ६० वर्षसम्मको हुने भएकाले यसको बोट जति पुरानो भयो उत्तिनै धेरै फल लाग्ने उनी बताउँछन् ।
खड्काले पाँच वर्षअघि नेपालकै पहिलो किवी नर्सरीसमेत स्थापना गरेका छन् । ‘आमा किवी फलफूल नर्सरी उद्योग’ भनेर उनले नर्सरी स्थापना गरेका हुन् । नर्सरीबाट उनले दोलखालगायत अन्य क्षेत्रबाट आएका मानिसलाई किवीका बिरुवा बिक्री गर्दै मनग्ये आम्दानी गरिरहेका छन् ।
खड्काका अनुसार उनको बारीमा उनकै घरमा डेरा गरी बस्ने स्विस नागरिकले झन्डै ३० वर्षअघि किवीका दुई वटा बोट रोपेका हुन् । ‘एक मनले काटेर फालौँ कि झैँ लागेको थियो,’ उनले भने, ‘तर, विदेशीले रोपेको बिरुवा केही उपयोगी नै होला भनेर नकाटी राखेँ । पछि पो थाहा भयो उक्त बोट त किवी पो रहेछ ।’
खड्काको प्रयासमा केही वर्षअघि मात्र नेपालमा भित्रिएको किवी फलको खेती अहिले दोलखाको चरिकोटमा मात्र सीमित छैन । नेपालका थुप्रै जिल्लाका धेरै किसानले व्यावसायिक रूपमा किवीको खेती गरिरहेका छन् । कृषि विभागका अनुसार नेपालमा अहिले दोलखा, काभ्रे, मकवानपुर, गुल्मी, नुवाकोट, कीर्तिपुर, गोदावरीलगायत क्षेत्रमा व्यावसायिक रूपमा किवी खेती हुँदै आइरहेको छ ।
बागवानी विकास केन्द्रका किवी विशेषज्ञ चन्द्रमान श्रेष्ठका अनुसार विगतमा खेर गइरहेको फलले दोलखाका खड्काको मात्र नभएर नेपालका धेरै किसानको जीवन फेर्न थालेको छ ।
विभिन्न अनुसन्धानअनुसार किवीमा पानी, कार्बोहाइड्रेड, चिनी, क्यालोरी, प्रोटिन, अमिलो, क्याल्सियम, पोटासियम भिटामिन ए, म्याग्नेसियम, फस्फोरस, सोडियमजस्ता शरीरलाई चाहिने महŒवपूर्ण तŒव पाइन्छन् । किवी मधुमेह, उच्च रक्तचाप, मुटु, कोलेस्ट्रोल, कब्जियत, कोलोन क्यान्सर, दमका रोगीका लागि उपयोगी हुने अनुसन्धानले देखाएको छ ।
किवी विशेषज्ञ श्रेष्ठ भन्छन्, ‘किवी बहुउपयोगी फल हो । यसको सेवनले धेरै रोगको निदान गर्दछ ।’ उनका अनुसार विगत सात वर्षमा दोलखा जिल्लामा भएको किवी खेतीको विकास क्रमलाई हेर्ने हो भने यस जिल्लाबाट १४ हजार किवीका बिरुवा उत्पादन भएका छन् । यी बिरुवामध्ये करिब ११ हजार ५ सय बिरुवा आफ्नै जिल्लामा खपत भएको छ भने बाँकी २ हजार ५ सय बिरुवा छिमेकी जिल्लामा लगिएका छन् ।  फल उत्पादनतर्फ यस वर्ष नेपालमा करिब २ सय मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार किवी फलबारे अझै पनि धेरै उपभोक्तालाई जानकारी छैन । किवी हाल निश्चित डिपार्टमेनट स्टोर, तारे होटल, फलफूल पसलमा मात्र उपलब्ध हुने गरेको छ । तर, ती स्थानमा पनि विदेशबाट किवीको आयात हुने गरेको छ ।
‘नेपालमा विदेशबाट धेरै मात्रामा किवीको आयात हुन्छ,’ किवी विशेषज्ञ चन्द्रमान श्रेष्ठले भने, ‘त्यसकारण नेपालमा किवीको विस्तार आवश्यक छ । जसका कारण किवीको आयात प्रतिस्थापन गर्न सकियोस् ।’
किवी के हो ?
यो एक बहुउपयोगी फल हो । किवीलाई नेपालीमा ‘ठेकी फल’, शेर्पा भाषामा ‘फमेल्दो’ भनिन्छ । अण्डा आकारको खैरो रङ अनि मसिनो झुसले ढाँकेको हुन्छ । किवीले ३० देखि ४० वर्षसम्म आम्दानी दिन्छ । किवीको फूल फागुनदेखि चैत महिनासम्म फुल्ने गर्छ भने कात्तिकदेखि मंसिर महिना किवीलाई हार्भेस्ट गरिन्छ । नेपालमा हेवार्ड, एलिसन, मन्टी, ब्रुनो र रेड तथा गोल्डेन गरी पाँच प्रकारका किवी उत्पादन हुँदै आइरहेका छन् । यी सबैको स्वाद फरक हुन्छ । यीमध्ये बजारमा हेवार्ड प्रजातिका किवीलाई बढी रुचाइएको छ । स्वाद र उपयोगिताका हिसाबले हेवार्ड किवी राम्रो मानिने किसान बताउँछन् ।
किवी विशेषज्ञ श्रेष्ठका अनुसार किवी एक हजार मिटरदेखि तीन हजार मिटरसम्ममा खेती गर्न सकिन्छ । नेपालका उच्च पहाडी र हिमाली क्षेत्र किवी खेतीका लागि उपयुक्त स्थान हुन् ।
किवी फल अन्य फल स्याउ वा सुन्तला खाएजस्तो बोटबाटै टिपेर सीधै खान सकिँदैन । फल छिप्पिएपछि किवीलाई टिपेर राखिन्छ । किवी फल छाम्दा गिलो भएपछि मात्र खान सकिन्छ



Source: Nagarik Shukrabar

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *

Baganaaskali Palpa Census 2078