
पहेंलपुर धान झुल्ने उर्वर खेतमा कालो पत्रे सडक लमतन्न परेर फैलिएर बसेको छ । खाद्य सुरक्षामा धावा बोल्दै प्लटिंग क्षेत्रमा गाडिएका विजुलीका अंधेरा पोलहरु उल्टै कृषि प्राविधिकहरुलाई जिस्क्याएर शीर ठाडो बनाएर हांसिरहेका छन् । रहर र भटमास फुल्ने धान खेतका आलीहरुमा भूमाफियाका चिल्ला वाईक र गाडीहरु कुदेका छन् । पानी वग्ने नहर र कूलाहरु घडेरी भित्र हराएका छन् । धान फल्ने यहांका मलिला खेतका गह गहमा आज भोली घडेरी भरी लुंडे कांडा र गन्दे झार फल्न थालेको छ । असारे गीत गाउंदै खेतमा छुपु छुपु गर्दै रोपाईं गर्ने दिदी वहिनीहरु ईजरायल तिर पलायन भएका छन् । १५ असारमा हिलाम्मे भएर दही चिउराको स्वादमा धान दिवस मनाउने हली र वाउसेहरु वेरोजगारीले छट्पटाएर खाडी मुलुक तिर श्रम बेच्न गएका छन् । स्वदेशको चौतर्फी विकासमा लाग्नुपर्ने ती परिश्रमी युवा हातहरु खाडीमा सस्तो मुल्यमा वेचिएका छन् । जीवनलाई धरापमा पारेर खाडीबाट खाई नखाई पठाएका रेमिटेन्स भूमाफियाका सांघुरा घडेरीहरुमा खुम्चीएर कैद भएका छन् । २।४ रुपीयां राजश्व संकलनमा बृद्धि भएको समाचार प्रशारण गरेर सरकारका मन्त्रीहरुले विकासको राग अलाप्दै जागीर पकाएका छन् । विनाशको भूमरी भित्र निरिह जनतालाई विकासको खोक्रो सपना बांडीरहेका छन् । राष्ट्रभक्ति, सेवा भाव, ईमान्दारिता, योग्यता र शिक्षा भूमाफियाहरुले थापेको एम्बुसमा परेर क्षत विक्षत अबस्थामा छट्पटाईरहेको छ । भएका हाम्रा उद्योग कल कारखानाहरु पनि दिनानुदिन बन्द हुने क्रममा छन् । यहां रोजगारीको अवशर नित्तान्त हराएको छ । हाम्रो शहरको वास्तविक रुपरेखा केवल सिटिईभिटिको एक बर्षे तालिम प्राप्त अमिनले कोरेको लाईनलाई पछयाउंदै हिंडिरहेको छ । समुद्रपारसम्म पुगेर ईञ्जिनियरिंग र शहरी विकास बिषयमा ल्याएका महंगा विद्यावारिधीको प्रमाण पत्र वेरोजगार भएर गोदरेज दराज भित्र थन्किएको छ । प्लटिंग गु्रपको काममा हाम्रा अमिन साहेबहरुको प्रमाणपत्रलाई भ्याई नभ्याई भएको छ । कृषि व्यवसायिकरण गर्ने फराकिला फांटहरु अमिनसाहेवको हातेव्यागभित्रको नटराज पेन्सिल र स्केलले चिरा चिरा भएको छ । कृषि उत्पादन गर्ने कर्मठ युवा हातहरु वेरोजगार भएर हातमुख जोर्ने विकल्पको पछ्याईमा भौंतारिरहेका छन् । भूमाफियालाई ह्विस्की र वीयर ख्वाउने दोहोरी सांझ र तन्दुरी क्याफेमा पो धमाधम रोजगारी खुलेका छन् । भूमाफियाकै घरको तला थप्ने काममा निर्माण सामग्री बोक्ने र उनीहरुकै प्लटिंगमा सडक कालो पत्रे गर्न अलकत्रा पकाउंदै छन् ।
वीउ विजन बेच्ने एग्रोभेट्सहरु सिमेण्ट र रड बेच्ने हार्डवेयर मा रुपान्तरण भएका छन् । गुणस्तरीय वीउ उत्पादन गरेर मुस्कुराउने खेतका फांटहरु घडेरी फलाएर अट्टहास गरेका छन् । कृषि प्रधान देशले कृषि योग्य भूमि लुटिएको टुलुटुलु हेर्दै चामलका वोरा आयात गरी रहेछ । जैविक विविधता संरक्षण गर्ने सपनामा तुषारापात भएको छ । जुन ५ को विश्व वातावरण दिवस टुहुरो भएको छ । हलो र कोदालो लिएर किसान खेल्ने खेतवारीका फांटहरुमा छिमेकी देशका मिस्त्रीहरु ज्यावल लिएर खेलीरहेका छन् । १६ अक्टोवरको विश्व खाद्य दिवस अपाङ्ग भएको छ । विकासले अग्रगामी छलाङ्ग मार्नुपर्नेमा विनाश तिर धकेलिएको छ । राजनेताहरु स्वीट्जरल्याण्ड र सिङ्गापुरको सस्तो काल्पनिक सपनामा जनतालाई भुलाएर सुडान र ईथियोपिया बनाउने कसरतमा लागेका छन् । डबल डिजिटको आर्थिक बृद्धि दरको दन्त्यकथामा भुलाएर जनतालाई मन्द बिष पिलाएका छन् । हाम्रा धान फल्ने खेतमा घडेरी फलेको छ अनि ति प्लटिङ्ग गरिएका कालोपत्रे सडकमा सांझ तिर गांजा र स्म्याक्स पनि बलेको छ । भबिष्यका कर्णधार ती अनमोल टिनेजर युवा युवतीहरुको रोमान्सगर्ने उपयुक्त क्रिडास्थल पो भएको छ । अमुल्य जीवन वर्वाद भएको छ, समाज वर्वाद भएको छ, देश वर्वाद भएको छ, मेरो कर्तव्य वर्वाद भएको छ । भो म कर्तव्य वर्वाद हुन किमार्थ दिन्न । म दूर दराजबाट भए पनि मेरा दविएका स्वरहरु लिएर एकपटक मुख खोल्ने प्रयत्न गर्छु । शहरतिरको रमझममा बसेका र मस्त निद्रामा सुतेका दक्ष कृषि प्राविधिकहरु, नीति निर्माता तथा वातावरणविद्हरुलाई पनि ब्युंझाउंने जमर्को गर्छु । सुतेकाहरुलाई ब्रम्ह मुहुर्तमा उठेर एक पटक देशको अबस्था प्रति चिन्तन गर्न विनम्रतापूर्वक आग्रह गर्छु । भूमाफियाका प्लटिंगले चिरा पारिएका हाम्रा उर्वर व्यावसायिक फांटहरुको विकराल रुप देखाउंदै प्लटिंग गर्न नभ्याईएर वचे खुचेका टुक्रा टाक्री जमिनको उत्पादनबाट बढ्दो जनसंख्यालाई कसरी ख्वाउन सकिन्छ भनेर विज्ञहरुलाई यक्ष प्रश्न तेस्र्याउंछु । समस्याबाट भागेर विदेश पलायन हुने ह्ैन देशमा स्वाभिमानपूर्वक बस्ने सोच बनाउन अनुरोध गर्छु । ब्रेन डे«न भएर विदेश पुगेका दक्ष जनशक्तिलाई एकपटक मातृभूमी फर्केर कृषिको वर्तमान अबस्था र कृषि प्राविधिकको दायित्व शिर्षकमा वृहद् अन्तरक्रिया कार्यक्रममा रचनात्मक विचार पस्कन विनम्र अनुरोध गर्छु । राजनैतिक दलका नेतृत्वलाई अन्तरक्रियाका निष्कर्श सुनाउने व्यवस्था गर्छु अनि प्रतिबद्धता सहित भावी कृषि नीति तय गराएर कृषिको आधुनिकीकरण मार्फत समुन्नत नयां नेपाल बनाउने वातावरण तयार पार्छु । समयले हामीलाई धेरै पछाडी पारेर अघि बढीसकेको छ । हामी धेरै अबेर सम्म सुत्यौं । अब सुत्ने बेला छैन । -शेषमणि भट्टराई
No comments:
Post a Comment